STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

आज तीज पर्व मनाइँदै

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र २१, शुक्रबार

काठमाडौं— भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजाआराधना गरी मनाउँदैछन्।

पञ्चाङ्गमा आज १५ घडी ५७ पला अर्थात्  मध्यान्ह १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ।

भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।

सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।

सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ। धर्मशास्त्री प्राडा रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताए। ‘सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ’, उनले भने। भोलिपल्ट सबेरै ‘लोापामुद्रा’लाई अर्घ्य दिएपछि तीजको व्रत पूर्ण भएको मानिन्छ।

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। ‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषले असल वर तथा वधुप्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधान रहेको धर्मशास्त्री ​प्राडा देवमणि भट्टराईले बताए। व्रतलाई सङ्कुचित अर्थमा लिन नहुने उनको भनाइ छ।

काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ। पशुपतिनाथमा बिहान ३ बजे नै देखि दर्शनको व्यवस्था मिलाइएको छ।

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनी एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खान्छन्। वर्षभर घरव्यवहारमा भोगेका दुःखकष्ट पोखेर नाचगान गर्छन्।

Categorized in राष्ट्रिय