मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ३१, सोमबार
काठमाडौं- अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन्।
उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए।
उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, 'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमानदार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।'
सर्वोच्च अदालतको आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन्। तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन्।
भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो।
ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो। सर्वोच्च अदालतले जुलाईमा जमानत दियो, तर सीआईबीले फेरि पक्राउ गर्यो।
जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा भावुक भए।
‘उनीहरूले मलाई जेलमा हाले, उनीहरूलाई लागेको थियो कि केजरीवाललाई जेलमा हाल्दा हतोत्साहित हुन्छन्’ उनले भने, ‘आज म तपाईंहरूलाई भन्न चाहन्छु, म जेलबाट बाहिर आएँ । मेरो हौसला १०० गुणा बढेको छ।’
Categorized in अन्तर्राष्ट्रिय