STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेता अनमोल केसी पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन १२, शुक्रबार

काठमाडौं - आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।

उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

निर्देशक सुदर्शन थापाले अभिनेता केसीविरुद्ध उजुरी दिएका थिए ।

अभिनेता अनमोल केसीले पक्राउ पर्नु दुई दिनअघि नै अदालतबाट निषेधाज्ञाको आदेश लिएको खुलेको छ । उच्च अदालत, पाटनले बुधबार ‘देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएको’ भन्दै पक्राउ नगर्न आदेश दिएको खुलेको हो ।

उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रचलित कानून बमोजिम फौजदारी कसूरमा अनुसन्धान गर्दा बाधा नपर्ने गरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’

निवेदनमा जिल्ला प्रहरी परिसर, टेकुलाई विपक्षी बनाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलेअभिनेता केसीलाई शुक्रबार अपराह्न साँगाबाट पक्राउ गरेको थियो ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले भने अदालतले देवानी प्रकृतिको कसुरमा मात्र पक्राउ नगर्न भनेको भन्दै अनमोलविरुद्ध आइतबार अनुसन्धानका लागि म्याद लिइने बताए । 

‘अदालतले देवानी प्रकृतिको मुद्दा मात्र पक्राउ नगर्न भनेको हो, आपराधिक विश्वासघातमा परेको जाहेरीका आधारमा समातेका हौं, यो फौजदारी मुद्दा हो’, रेग्मीले भने, ‘त्यसैले यसमा पक्राउ गर्न प्रहरीलाई समस्या छैन, आइतबार अदालतमा हाजिर गराउँछौँ ।’

Categorized in सिनेमा