स्याङ्जामा डेङ्गुका एक बिरामी
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ९, सोमबार
स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।
उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे । गत बिहीबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको ल्याब परीक्षणका क्रममा डेङ्गु भेटिएको पुष्टि भएको उहाँले बताउनुभयो ।
डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने बताइएको छ । डेङ्गुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुल प्रयोग गर्न पनि सुझाव दिइएको छ ।
Categorized in अपराध-दुर्घटना