STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

काँकडभिट्टामा लोक चित्रकलातिर तानिए कला उत्सवका दर्शक

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २०, सोमबार

लोक चित्रकलामा सामाजिक जनजीवन, परम्परागत संस्कृति र मौलिक पहिचान झल्किने हुँदा यसको लोकप्रियता बढ्दो छ । झापाको काँकडभिट्टामा शनिबारदेखि जारी तीन दिवसीय ‘कला साहित्य उत्सव’मा प्रदर्शनीमा राखिएका लोक चित्रकलाले दर्शकको माया मात्र पाएका छैनन्, कलाकारको प्रतिभालाई समेत चिनाउन मद्दत पु¥याएको छ । प्रदर्शनीमा राखेको एउटा लोकचित्रको मूल्य रु दुई हजार निर्धारण गरिएको थियो तर प्रदर्शनीमा अवलोकन गर्न आएका एक व्यक्तिले सो चित्रलाई रु पाँच हजार तिरेर खरीद गरेको झापाका उदीयमान चित्रकार विनोद राजवंशीले बताउनुभयो । “यति राम्रो चित्रको रु दुई हजार दाम अलि कम भयो जस्तो लाग्छ, कतिसम्म दाम राख्न सकिन्थ्यो भनेर उहाँले मलाई सोध्नु भयो”, देही आर्टमा आबद्ध कलाकार राजवंशीले चित्र बिक्री प्रसङ्गबारे भन्नुभयो, “मैले रु पाँच हजार त परिहाल्छ नि सर मात्र के भनेको थिएँ, उहाँले खुरुक्क पाँच हजार दिएर चित्र किन्नुभयो ।” रिडर्स झापाले हरेक दुई वर्षमा काँकडभिट्टामा कला साहित्य उत्सवको आयोजना गर्दैै आएको छ । उत्सवमा काँकडभिट्टाकै देही आर्टले कला क्षेत्रको संयोजनकारी भूमिका निर्वाह गरेको छ । यसपटक उत्सवमा ‘पूर्वी नेपालको सुन्दरता’ शीर्षकमा लोक चित्रकलाको प्रदर्शनी र प्रतियोगिता गरिएको छ । सांस्कृतिक विविधता भएको पूर्वी नेपालको विभिन्न जाति र समुदायको संस्कृति र परम्परालाई चित्रकलामा समेटिएको हुँदा प्रदर्शनीले दर्शक तानेको देही आर्टका संस्थापक छितेन शेर्पा बताउनुहुन्छ । कोठाको चेपारामा बसेर कुची खेलाउने कलाकारलाई यो उत्सवले मुलुकभरिका प्रवुद्ध साहित्यकार तथा पत्रकारको दृष्टिमा अगाडि ल्याइदिन सघाउ पु¥याएको उहाँ बताउनुहुन्छ । प्रतियोगितात्मक कला प्रदर्शनीमा पोखरा, काठमाडौँ, धरान, धनकुटा, विराटनगर र झापाका कलाकारको २५ वटा लोकचित्र राखिएको छ । दर्शकले ती चित्रमा मत दिनका लागि मतपेटिका समेत प्रदर्शनीस्थलमा राखिएको छ । बढी मत प्राप्त गर्ने चित्रलाई उत्सवको आज हुने समापनमा पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ । अमादब्लम हिमाल, कन्याम, पाथीभरा माता, किराती युवती, परम्परागत भाडावर्तन, चण्डी नाच, राजवंशी जातिले प्रयोग गर्ने मखुण्डो आदिका चित्र प्रतियोगितामा सामेल छन् । उत्सवमा आइतबार ‘लोक चित्रकला’ विषयमा प्रख्यात कलाकर्मीबीच बहससमेत गराइएको छ । बहसमा सहभागी वक्ताले लोककला कुनै जाति र समुदायको मात्र नभएर राष्ट्रकै सम्पत्ति भएको धारणा राख्नुभएको छ । विराटनगरका मिथिला लोक चित्रकार एससी सुमनले विश्वभर मिथिला लोक चित्रकलाले नेपाललाई चिनाएको बताउनुभयो । लोक चित्रकलालाई हजुरआमा पुस्ताले जोगाएर राखेको र हाल त्यसलाई क्यान्भासमा उतारेर नयाँ पुस्ताले संसारभर चिनाएको उहाँको भनाइ थियो । थारू लोक चित्रकलामा अभिरुचि राख्नु हुने सरोजा खड्गीले नेपाली परम्परा र संस्कृतिमा आधारित चित्रकलामा नेपाल धनी भएको उल्लेख गर्दै थारूहरुको ‘खड्की अचहरा’ विश्वमै दुर्लभ वेषभूषा भएको बताउनुभयो । मोफसलमा बसेर दुई दशकदेखि निरन्तर कलाकर्ममा लागि रहनुभएको ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य पवन राजवंशीले चित्र किनिदिने बानी नभएसम्म लोक चित्रकला फष्टाउन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले परम्परा र संस्कृति लोप हुँदै जाँदा लोककलासमेत हराउँदै गएको बताउनुभयो ।
Categorized in उपत्यका