STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

दिपायल दरबारको संरक्षण गरिन

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १५, बुधबार

–बिमलबहादुर बिष्ट दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा दिपायलमा रहेको डोटेली राजाको दरबार संरक्षण तथा सम्वद्र्धन गर्ने भएको छ । उक्त दरबार संरक्षण तथा सम्वद्र्धनका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख खर्च गर्न लागेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको उक्त दरबार संरक्षण सम्वद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ । राष्ट्रियस्तरको सम्पदाका रुपमा सूचीकृत उक्त दरबारको स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक सङ्ग्रहालयका रुपमा स्थापित गर्ने उद्देश्यले दरबारको संरक्षण तथा सम्वद्र्धन गर्न लागिएको नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “दरबार भग्नावशेष अवस्थामा छ, हामी यसको संरक्षण र सम्वद्र्धन गरेर नमूना सङ्ग्रहालय बनाउने छौँ ।” उक्त दरबार झण्डै १५ औँ शताब्दीतिर निर्माण भएको हुनसक्ने अनुमान छ । सो ठाउँमा दुई भग्नावशेष दरबार भवन र भैरव मन्दिर रहेका छन् । दरबार क्षेत्रको जमीन भित्रभित्रैबाट सेती नदीमा नुहाउन जाने गुफासमेत छ । डोटी गौणाको केन्द्र, तत्पश्चात् साविकको संरचनामा क्षेत्रीय सदरमुकाम रहेको दिपायलको छेवैमा अग्लो डाँडामा उक्त दरबार अवस्थित छ । दरबार भएको स्थानबाट दिपायल बजार, पिपल्ला बजार, दुधेश्वर, दिल्पेश्वर मठ, वासुधाराजस्ता क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । उक्त दरबारमा ११ फिटभन्दा लामो ढुङ्गाको प्रयोग गरी आकर्षक डिजाइनमा निर्माण गरिएको भग्नावशेष पर्खाल अझै रहेको छ । दरबारमा प्रयोग भएका ढुङ्गा, काठ, छानामा प्रयोग भएका स्लेट सबै चोरी भइसकेका स्थानीयवासी बताउँछन् । संरक्षण नहुँदा उक्त दरबार क्षेत्र अहिले कहाली लाग्दो अवस्था छ । भग्नावशेष अवस्थामा रहेको डोटी दरबार संरक्षणका लागि पुरातत्व विभागको टोलीले पनि हालै स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ । तत्कालका लागि नगरपालिकाले छुट्याएको बजेटका आधारमा दरबारको भग्नावशेष अवस्थालाई उत्खनन गरी बाँकी संरचना निर्माणको काममा अगाडि बढाइने पुरातत्व विभागका सव–इञ्जिनीयर गोविन्द अधिकारीले बताउनुभयो । ( रासस )
Categorized in उपत्यका