STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

मौसम बदलीसँगै वर्षा र हिमपात

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २५, शुक्रबार

पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उहाँले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने बताउनुभयो । आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ । काठमाडौँ आसपासका क्षेत्रमा आज दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा हुने जानकारी दिँदै वरिष्ठ मौसमविद् कँडेलले भन्नुभयो, “दिनभर लगातार वर्षा भने हुँदैन, उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा कम बदली हुन्छ ।” शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ । मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो ।
Categorized in राष्ट्रिय