मार्तडीको फोहर व्यवस्थापन सडक छेउमा
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार
सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने बजारवासीको भनाइ छ ।
बजार क्षेत्र भन्दा करीब पाँच किलोमिटर तल फोहर व्यवस्थापन गर्ने ठाउँ बनाएको भए पनि व्यवस्थित नहँुदा दुर्गन्ध बढ्दै गएको छ । बजार क्षेत्रबाट ल्याइएका विभिन्नखाले फोहर वस्तु कुुहिदै गएको तथा प्लाष्टिक र कागज समेत हावाले उडाउने हुँदा झनै समस्या भएको स्थानीय सुरज बडूवालले गुनासो गर्नुभयो । मार्तडी बजारमा थुपारिएर राखिएको फोहर सङ्कलन गरी साँफे–मार्तडी सडक खण्डको सुवाकाँधमा टिपरले जथाभावी सडकमा नै पर्नेगरी फाल्ने गरेको छ । सडक छेउमै फोहर फाल्ने गरेकाले सडकमा आवतजावत गर्ने सवारी साधनलाई समेत अप्ठ्यारोे हुने गरेको यातायात व्यवसायी पृथ्वी रावललले बताउनुभयो ।
नगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि उपयुक्त ठाउँमा खाडल बनाएर फोहर पुर्नुपर्ने नगरपालिका–९ का काल्चे दमाइँले बताउनुभयो । उहाँले फोहर व्यवस्थापन गरिएको भए पनि फोहर जथाभावी फाल्दा कागज र प्लाष्टिकका टुक्रा हावाले उडाएर अन्यत्र लैजाने गरेकाले अन्य ठाउँमा फोहर हुने गरेको उहाँको भनाइ थियो ।
“बजारको फोहर व्यवस्थापन गर्नु नगरपालिकाको राम्रो काम हो तर फोहर व्यवस्थापन गर्न उपयुक्त खाडल नबनाउनु दुर्भाग्य हो” उहाँ भन्नुहुन्छ । फोहर उपयुक्त ठाउँमा व्यवस्थित नगरेमा विभिन्नखाले रोगको सङ्क्रमण बढ्नसक्ने पूर्ण सरसफाइ स्वस्थ अभ्यास परियोजनाका जिल्ला संयोजक मोहन जैशीले बताउनुभयो ।
फोहर व्यवस्थापन राम्ररी नभएको सम्बन्धमा पटक÷पटक नगरपालिकालाई सचेत गराउँदै आएको संयोजक जैशीको भनाइ थियो । बजारमा बसोवास गर्ने स्थानीयवासी, होटल व्यवसायी, उद्योगी व्यापारीले हप्ताभर थुपारेर राखेको फोहर हरेक आइतबार र बुधबार सङ्कलन गरी सुवाकाँधमा फाल्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थराज भट्टराईले बताउनुभयो ।
फोहर सुरक्षित ठाउँमा लगेर व्यवस्थापन गर्न नगरपालिका लागेको प्रमुख भट्टराईको भनाइ थियो । उहाँले बजारबाट सङ्कलन गरी टिपरमार्फत लगिएको फोहर जथाभावी नफालेको बताउनुभयो । भट्टराईले भन्नुभयो,“फोहर व्यस्थापनका लागि खाडल बनाउने गरी बजेट विनियोजन भएकाले मार्तडी सरसफाइ गौरव यात्रालाई सफल पार्न नगरवासीले एकजुट भएर लाग्नुपर्छ ।” सडक छेउउमा मात्र नभइ उक्त फोहर फाल्ने ठाउँमा बाउली खोलाको पानीमा कुहिएका चिजवस्तु मिसिन थालेको गुनासो आएको छ ।
बजारमा फालिएका कुहिने वस्तुु पानीमा मिसिन थालेकाले तत्काल खाडल बनाउनुपर्नेमा रापकका स्थानीयवासी वीरबहादुर थापाले बताउनुभएयो । उक्त खोलामा नुहाउने र गाईभैँसीलाई पानीसमेत खुवाउने हुँदा तत्काल खाडल बनाएर फोहर फाल्न थापाले आग्रह गर्नुभयो । खाडल नबनाएर जथाभावी फोहर फाल्दा मान्छेमा रोेग लाग्ने र पशुचौपाया मर्ने हँुदा ठूलोे क्षति बेहोर्नुपर्ने हुनसक्ने थापाको भनाइ थियो । पटक÷पटक नगर प्रमुखलाई खाडल बनाएर फोहर फाल्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेको स्थानीयवासीले आरोप लगाएका छन् ।
नगरप्रमुख पदम बडूवालले फोहर व्यवस्थापन गर्न नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले सही रुपमा फोहर व्यवस्थापन नभएको जनगुनासो आउनु स्वभाविक र सकारात्मक भएको बताउनुभयो । नगरप्रमुख बडूवालले भन्नुभयो–“फोहर व्यवस्थापनका लागि नगरपालिकाले नयाँ रणनीतिका साथ अघि बढ्ने योजना बनाउन थालेको छ ।”बजार क्षेत्रमा सडक विस्तार हुदै गएकाले सबै ठाउँको फोहर व्यवस्थापन गर्न उक्त क्षेत्रमा खाडल बनाउँदै खोलामा दूषित वस्तु नमिसिने गरी नगरपालिकाले व्यवस्थापन गर्ने नगर प्रमुख बडूवालले दावी गर्नुभयो ।
Categorized in राष्ट्रिय


