चलचित्र विकास बोर्डमा कार्यविधि मस्यौदा समितिको बैठक सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ मङ्सिर ५, शुक्रबार
चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष मनीष पण्डितज्यूको नियुक्ति पश्चात् गठित कार्यविधि मस्यौदा समितिको पहिलो बैठक शुक्रबार बोर्डमा सम्पन्न भएको छ।
अध्यक्ष मनीष पण्डितको संयोजकत्वमा गठित उक्त समितिमा बोर्ड सदस्य गणेश सुवेदी, विज्ञका रुपमा चलचित्रकर्मी जनकदीप पराजुली तथा सदस्य–सचिवका रूपमा अधिकृत गिरीश शर्मासहित चार जना सदस्य रहनुभएको छ।
बैठकमा चलचित्र विकास बोर्डमा हाल प्रचलनमा रहेका २१ वटा कार्यविधिहरूको समीक्षा तथा संशोधनका विषयमा छलफल भएको छ। हाल प्रचलनमा रहेका अधिकांश कार्यविधिहरू पुराना भइसकेको र वर्तमान समय, बदलिँदो आवश्यकता, नयाँ सोच तथा सरकारको नीतिअनुकूल बनाउन आवश्यक रहेको विषयलाई अध्यक्षज्यूले जोड दिनुभयो। सोहीअनुसार आवश्यक संशोधन गरी दीर्घकालीन र प्रभावकारी कार्यविधि निर्माण गर्ने निर्णयसहित प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी, बोर्डका वार्षिक कार्यक्रम तथा नियमित सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक नयाँ कार्यविधिहरू पनि तयार गरिने भएको छ।
यसका साथै बोर्डअन्तर्गत विभिन्न समिति विस्तार तथा गठन गर्ने प्रक्रिया पनि निरन्तर अघि बढिरहेको छ। हालसम्म बोर्डको सूचनाअनुसार ५० भन्दा बढी आवेदन प्राप्त भएका छन्। प्राप्त आवेदन तथा आवेदकहरूको योग्यता, अनुभव र सम्बन्धित क्षेत्रको योगदानलाई प्राथमिकतामा राखी समितिहरू विस्तार गरिनेछ।
चलचित्र विकास बोर्डका कार्यविधिहरूलाई समयसापेक्ष, व्यवस्थित, पारदर्शी र दीर्घकालीन बनाउँदै संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कार्य अगाडि बढाइएको छ।
Categorized in सिनेमा

