विश्व नेपाली साहित्य महासङ्घको अमेरिका राष्ट्रिय समिति गठन
Janjati Khabar – विश्व नेपाली साहित्य महासङ्घको अमेरिका राष्ट्रिय समिति गठन | २०८३ आश्विन १९, सोमबार
विश्व नेपाली साहित्य महासङ्घको संयुक्त राज्य अमेरिका राष्ट्रिय समिति गठन गरिएको छ । साे समितिमा रितादेवी प्रधान “ रूमाठ “ अध्यक्ष र मोहन यादव वरिष्ठ उपाध्यक्ष का रुपमा चयन भएका छन् ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विश्वव्यापी प्रवर्द्धनमा जोड दिने उद्देश्यले संयुक्त राज्य अमेरिकामा नेपाली साहित्य, कला, कौशल, संस्कृति तथा सभ्यताको प्रचार–प्रसार, विकास र उन्नतिका साथै नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ क्रियाशील विश्व नेपाली साहित्य महासङ्घ (Global Federation for Nepali Literature–GFNL) ले संयुक्त राज्य अमेरिका राष्ट्रिय समिति गठन गरेको बताइएको छ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको जुलाई १९, २०२६ को निर्णयअनुसार गठित संयुक्त राज्य अमेरिका राष्ट्रिय समितिको महासचिवमा यशोदा लामा (क्यालिफोर्निया), सचिवमा हरि कृष्ण अधिकारी (भर्जिनिया), संगठन सचिवमा अनिल मल्लिक (आयोवा) तथा कोषाध्यक्षमा कृष्णश्री श्रेष्ठ (शिकागो) रहनुभएको छ।
राष्ट्रिय समितिका सदस्यहरूमा प्रमिला मानन्धर (भर्जिनिया), श्रीजना भट्ट (डेली सिटी), कविता घिमिरे (रिचमण्ड), केशरी श्रेष्ठ (लस एन्जल्स), रजनी लक्ष्मी मल्ल (फ्लेमिङटन) तथा भागीरथ दाहाल (रिचमण्ड) रहनुभएको छ।
यसैगरी महासङ्घले अमेरिकी राष्ट्रिय समितिका लागि पाँच सदस्यीय सल्लाहकार समूह पनि चयन गरेको छ। सल्लाहकारहरूमा राम लामा अविनाशी (लस एन्जल्स), केशरमान ताम्राकार (शिकागो), सरला श्रेष्ठ (पेन्सलभेनिया), विजय चौधरी (नर्थ क्यालिफोर्निया) तथा सुन्दरी सुनी गुरुङ (न्यु ह्याम्पशायर) रहनुभएको छ।
विश्वका विभिन्न मुलुकमा रहेका नेपाली स्रष्टा, साहित्यकार तथा साहित्यप्रेमीहरूलाई जोड्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्य राखेको महासङ्घले अमेरिकामा गठित राष्ट्रिय समितिमार्फत साहित्यिक गतिविधिलाई थप व्यवस्थित र विस्तार गर्ने अपेक्षा गरेको छ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले नवगठित संयुक्त राज्य अमेरिका राष्ट्रिय समितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। गठन प्रमाणपत्रमा विश्व केन्द्रीय समितिका महासचिव देविका मग्राती राई तथा अध्यक्ष प्रा. डा. लेखनाथ काफ्लेको हस्ताक्षर रहेको छ।
विश्व नेपाली साहित्य महासङ्घको संयुक्त राज्य अमेरिका राष्ट्रिय समितिको गठनले अमेरिकामा रहेका नेपाली साहित्यकार तथा साहित्यप्रेमीहरूबीच सहकार्य, साहित्यिक आदानप्रदान र नेपाली भाषा–साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा थप योगदान पुग्ने विश्वास गरिएको छ।
Categorized in राष्ट्रिय

