थेच्वमा मतयाः जात्रा सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र १५, सोमबार
ललितपुरकाे शहरी क्षेत्रमा नेवार समुदायले मनाइने हरेक वर्ष गुंलागा द्वितीया दिन मनाइने मतयाः जात्रा (दिप यात्रा) आइतबार सम्पन्न भएको छ भने साेही दिन ललितपुरको गोदावरी नगरपालिका–१२, थेच्वमा आइतबार भव्य रुपमा मनाइएको छ । मतयाः जात्रा नेवारहरुले प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट भाद्रकृष्ण द्धितीयामा मनाउने गरिन्छ । थेच्वमा भने विशेष रुपमा मनाइने गरिन्छ ।
जात्राका क्रममा विभिन्न सांस्कृतिक तथा परम्परागत बाजागाजासहित सहभागीहरूले समाजमा देखिएका विकृति, विसंगति र समसामयिक घटनालाई व्यंगात्मक रूपमा प्रस्तुत गरेका थिए । यस क्रममा प्रस्तुत गरिने व्यंगले मनोरञ्जनसँगै समाज र राज्यलाई आफ्ना कमजोरी र विकृतिबारे सोच्नसमेत सन्देश दिने गर्दछ ।
स्थानीय सांस्कृतिक अभियन्ताहरूका अनुसार मतयाः जात्रा केवल मनोरञ्जनका लागि गरिने कार्यक्रम नभई थेच्वको मौलिक सांस्कृतिक पहिचान, परम्परागत बाजा र सामुदायिक सहभागितालाई निरन्तरता दिने महत्वपूर्ण माध्यम हो ।
बदलिँदो समयसँगै नयाँ पुस्ताको सहभागिता र चासो बढाउँदै यस प्रकारका मौलिक सांस्कृतिक परम्पराको संरक्षण गर्नुपर्नेमा स्थानीयको जोड छ ।
थेच्व सांस्कृतिक बाजा संरक्षण समितिका अध्यक्ष जितगोविन्द महर्जनले थेच्व मतया जात्रा केवल धार्मिक परम्परा मात्र नभई थेच्वको मौलिक संस्कृति, बाजागाजा, कला र सामुदायिक एकताको जीवन्त पहिचान भएको बताए । पुस्तौँदेखि चल्दै आएको यस जात्राले दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै स्थानीय कला, संस्कृति र बाजागाजाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जानकारी उनले दिए । पछिल्लो समय मौलिक बाजा तथा सांस्कृतिक परम्परा संरक्षणमा चुनौती बढ्दै गएकाले नयाँ पुस्तालाई समेत सहभागी गराउँदै मतया जात्रालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
थेच्वमा रहेका १२ वटा परम्परागत बाजा खलकले पालैपालो मतयाः जात्राको आयोजना गर्दै आएका छन् ।
यस वर्ष आयोजनाको जिम्मेवारी तःननी बाँसुरी खलःले पाएको हो । जात्रामा उत्कृष्ट प्रदर्शनी गर्नेलाइ पुरस्कार दिने पनि गरिन्छ । यस पटक प्रथम, दोस्रो र तेस्रो स्थानमा क्रमशः न्हूछेँ दाफा खल:, मालिगां धिमय् खल: र न्ह्यछेँ दाफा खलः भए । सान्त्वना पुरस्कार सरस्वती धिमय् खल:ले पाए । आकर्षक टोलमा लाईझ्व टोलले पुरस्कार पाए । भने उत्कृष्ट महिला र पुरूष भूमिकामा नवीन महर्जन र अभिमन महर्जन भए । याे पुरस्कार निर्णय गर्न नबिन थेचाेमि, रामकृष्ण खडगी र लक्ष्मी कुमार महर्जन रहेको निर्णायक समिति गठन गरिएको थियो ।
उनीहरूले नेपालीहरू आफ्नो देशमै बसेर काम गर्न छाडिसकेको । लाज मान्ने गरेको र बिदेशीहरू अझ विशेष गरि भारतबाट यहाँ आएर काम गर्दै जीवन चलाईरहेका छन् । नेपालीहरु बिस्थापित हुँने खतराको संकेत भनी व्यांग प्रस्तुत गरेका थिए।
त्यस्तै पुरस्कार प्राप्त गर्नेहरूले मूलधारका नेताहरू अदृष्य शक्तिबाट परिचालित छन् । परापूवर्क कालदेखि मनाउदै अाएको श्रीकृष्ण जात्रा बन्द भएको र फेरी चलाउनुपर्नेप्रति व्यंग प्रस्तुत गरेका थिए ।
थेच्वबासीले जात्रालाई व्यवस्थित गर्न २०६२ मा थेच्व सांस्कृतिक बाजा संरक्षण समितिको स्थापना गरेर जात्रा सञ्चालन गर्दै आइरहेका छन् । जगत बहादुर महर्जन सभापतित्वमा सम्पन्न साे कार्यक्रममा बागमती प्रदेश सांसद रघुनाथ महर्जन प्रमुख अतिथि र मेयर गाेदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन विशेष अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा सानु महर्जनले स्वागत मन्तव्य र ज्ञान बहादुर महर्जन , हरिराम महर्जन , जित महर्जन र देवरत्न महर्जन लगायतले पनि राखेका थिए ।
यसै कार्यक्रममा थेचाेका प्रथम वाद्य गुरु सन्तलाल महर्जनलाई दाेसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।
Categorized in उपत्यका

