स्वतन्त्र संसार महर्जनकाे स्मृतिमा पेजथ्रीकाे श्रद्धाञ्जली सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २९, शुक्रबार
बहुप्रतिभाशाली कलाकार तथा सञ्चारकर्मी स्वतन्त्र संसार महर्जनको वार्षिक पुण्यतिथिको अवसरमा उहाँको योगदान, जीवनी र कला क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
पेज थ्री प्रकाशनले आफ्नो पत्रिकामा स्वर्गीय महर्जनको जीवनयात्रा, कला तथा सञ्चार क्षेत्रमा पुर्याएको योगदानबारे विशेष सामग्री प्रकाशन गर्दै उहाँको स्मृतिमा कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा उपस्थित अतिथि तथा कलाकारहरूले स्वर्गीय महर्जनप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँले नेपाली कला तथा सञ्चार क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरे।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर श्री कृष्णमान डंगोल, ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्य, ललितपुर महानगरपालिका वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जन लगायतले स्वर्गीय महर्जनको गुनानुस्मरण गरेका थिए भने कार्यक्रममा सिने पत्रकार विजयरत्न असंबेरे, ललितपुर वडा १६ अध्यक्ष निर्मल रत्न शाक्य , अग्रज रंगकर्मि पवन जाेशी लगायत धेरै कलाप्रेमिहरुकाे उपस्थिति रहेको थियो।
त्यसैगरी नेपाली चलचित्र क्षेत्रमा स्थापित निर्देशक, निर्माता, अभिनेता तथा सञ्चारकर्मी एवं नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वर्गीय स्वतन्त्र संसार महर्जनसँगको सम्बन्ध, उहाँको व्यक्तित्व तथा कला क्षेत्रमा पुर्याएको योगदानबारे मन्तव्य व्यक्त गरे। वक्ताहरूले महर्जनको सिर्जनशीलता, बहुआयामिक प्रतिभा र नेपाली कला–सञ्चार क्षेत्रमा उहाँले छोडेको योगदानलाई आगामी पुस्ताले पनि सम्झिरहनुपर्ने बताए।
कार्यक्रमको अर्को विशेष आकर्षण स्वर्गीय महर्जनको स्मृतिमा निर्माण गरिएको नेपाली म्युजिक भिडियो ‘फर्की आउ प्रिय’को सार्वजनिकरण थियो। भिडियो सार्वजनिक भएपछि कार्यक्रमस्थल भावुक बनेको थियो। प्रमुख अतिथिदेखि उपस्थित दर्शकसम्म धेरैका आँखामा आँसु देखिन्थ्यो।
म्युजिक भिडियोबारे प्रतिक्रिया दिने क्रममा कलाकार तथा निर्देशकसमेत भावुक बनेका थिए। स्वर्गीय महर्जनको सम्झना र उहाँसँग जोडिएका भावनात्मक क्षणलाई प्रस्तुत गरिएको भिडियोले उपस्थित सबैलाई भावविह्वल बनाएको थियो। कतिपय सहभागीले भावुकताका कारण आफ्नो प्रतिक्रिया समेत सहज रूपमा व्यक्त गर्न सकेनन्।
‘फर्की आउ प्रिय’ म्युजिक भिडियोमा स्वर्गीय स्वतन्त्र संसार महर्जनकी श्रीमती र छोराले समेत अभिनय गरेका छन्। परिवारकै सदस्यहरूको सहभागिताले भिडियोमा अझ बढी भावनात्मक गहिराइ थपिएको उपस्थित दर्शकहरूले बताएका थिए।
चर्चित निर्देशक योवन शाक्यले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा दीपा महर्जनको स्वर रहेको छ भने सुरेन्द्र श्रेष्ठले संगीत संयोजन/कम्पोज गरेका छन्। भिडियोमार्फत स्वर्गीय महर्जनको सम्झना, परिवारप्रतिको आत्मीयता र उहाँको अनुपस्थितिले सिर्जना गरेको भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
स्वर्गीय स्वतन्त्र संसार महर्जनको वार्षिक पुण्यतिथिमा आयोजित उक्त कार्यक्रमले उहाँको व्यक्तिगत जीवन र योगदानलाई मात्र स्मरण गरेन, नेपाली कला, चलचित्र तथा सञ्चार क्षेत्रमा उहाँले पुर्याएको योगदानलाई आगामी पुस्तासम्म पुर्याउने प्रयाससमेत गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय महर्जन शारीरिक रूपमा आफूहरूमाझ नरहे पनि उहाँका सिर्जना, योगदान र सम्झनाहरू नेपाली कला तथा सञ्चार क्षेत्रमा सधैँ जीवित रहने धारणा व्यक्त गरे।
Categorized in साहित्य-कला

