अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ काे नाेमिनेशन सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २८, आइतबार
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६ अन्तर्गत विभिन्न २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ।
मनोनयन सार्वजनिकसँगै मनोनयनमा परेका कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राविधिकलाई प्रमाणपत्र पनि वितरण गरिएको हो।
इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा काठमाडौँस्थित होटल याक एन्ड यतीमा सम्पन्न कार्यक्रममा आगामी साउन ३० गते (अगस्ट १५) सोही होटलमा हुने ईन्फा अवार्डको तयारीबारे जानकारी दिइएको थियो।
आयोजकका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्ये वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापाको निर्णायक मण्डलले गरेको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच मनोनयन चयन गरिएको हो।
यस वर्ष उत्कृष्ट फिल्म विधामा ‘आ बाट आमा’, ‘ऊनको स्विटर’, ‘कोशेढुंगा’, ‘जेरी अन टप’ र ‘परान’ मनोनयनमा परेका छन्।
उत्कृष्ट अभिनेता विधामा अनमोल केसी, नाजिर हुसेन, पल शाह र विपिन कार्की मनोनयनमा परेका छन् भने उत्कृष्ट अभिनेत्रीतर्फ आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त प्रतिस्पर्धामा छन्।
आयोजकले प्रतिस्पर्धात्मक विधाबाहेक पब्लिक च्वाइस, जुरी, प्रोत्साहन, पर्फर्मर अफ दि अवार्ड, कमेडी अफ दि इयर र लाइफटाइम अचिभमेन्टसहित कुल ३२ विधामा अवार्ड प्रदान गरिने जनाएको छ।
यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई नगद १ लाख ११ हजार १११ रुपैयाँसहित प्रदान गरिनेछ।
ईन्फा अवार्डका पहिलो र दोस्रो संस्करण सन् २०२४ र २०२५ मा बेलायतको लन्डनमा सम्पन्न भएका थिए। तेस्रो संस्करण भने पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो।
Categorized in साहित्य-कला

