STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नारायणकाजीले भेटे ओली र नेपाललाई

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३१, मंगलबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली र माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।  

सत्तारुढ दल माओवादीका नेता श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न सोमबार उनकै निवास बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भएको थियो । श्रेष्ठले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरे ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ मा तत्कालीन नेकपा खारेज गरेपछि एमाले, माओवादी र एकीकृत समाजवादीका रुपमा तीन दल छुट्टिएका थिए ।

ओली एमाले अध्यक्ष भए भने श्रेष्ठ माओवादी केन्द्रमा सक्रिय रहे । माधवकुमार नेपालले भने एकीकृत समाजवादीको नेतृत्व गरे ।

त्यसयता नेपाल र श्रेष्ठबीच सत्ता गठबन्धनकै दलका रुपमा सामान्य भेटघाट भइरहे पनि ओलीसँग श्रेष्ठले ओलीसँग एकाध पटक फोन संवाद गरेका थिए ।

एमसीसी पास गर्ने वा नगर्ने बहस चलेका बेला संसद भवन परिसरमा दुई दलका शीर्ष नेताहरुबीच सामूहिक भेटवार्ता भएको थियो ।

स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेका बेला एमालेले ३ जेठमा ९ महिना लामो संसद अवरोध अन्त्य गर्‌यो । संसद अवरोध अन्त्य गर्ने एमालेको कदमको स्वागत गर्ने क्रममा श्रेष्ठले वाम तालमेलको पक्षमा रहेको सन्देश दिए ।

आफ्नो पार्टीभित्र र अरु दलका नेताहरुसँग पनि वाम गठबन्धनको पक्षमा मत राख्दै आएका माओवादी केन्द्रका नेता श्रेष्ठले सोमबार एमाले अध्यक्ष ओलीलाई भेटे । भेटमा दुई नेताबीच मुलुकको समग्र परिस्थितिसँगै वाम आन्दोलनबारे छलफल भएको स्रोत बताउँछ ।

सोमबार विहान ओलीलाई भेटेका श्रेष्ठले दिउँसो एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटे । एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका नेपाललाई भेट्न श्रेष्ठ उनकै निवास कोटेश्वर पुगेका थिए ।

देशको गम्भीर परिस्थिति भन्नुको अर्थ के हो भन्ने प्रश्नमा श्रेष्ठले तयारीमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बेला गर्न खोजिएको भनेर चर्चामा आएको ‘स्टेट्स पार्टनरसिप प्रोग्राम’तिर संकेत गरे । यसबारे गठबन्धनमा कुनै छलफल नभएको र यसले नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलन आउन लागेको त होइन भन्ने प्रश्न उब्जिएको श्रेष्ठले बताए ।

‘गठबन्धनमा यसबारे छलफल भएको छैन,’ उनले भने, ‘कही नेपालको परराष्ट्र नीति र परराष्ट्र सम्बन्धमा विचलन आउन लागेको त होइन भन्ने गम्भीर प्रश्न पैदा भएको छ । त्यसमा हामी आफैं सरकारमा छौं । यसबारे गम्भीर छलफल गर्नुपर्‍यो भन्ने कुरा माधव कमरेडसँग राखेँ ।’

गठबन्धन सरकार साझा मान्यताका आधारमा चल्नुपर्छ भन्ने आफ्नो जोड रहेको श्रेष्ठले बताए । उनी भन्छन्, ‘गठबन्धन साझा मान्यताका आधारमा चल्नुपर्‍यो । राष्ट्रका हितमा केन्द्रित भएर साझा मान्यताका अधारमा चल्नुपर्‍यो भन्ने हो ।’

Categorized in राजनीति