पल्सर स्पोर्ट्स अवार्ड : पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी घोषित
Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ८, मंगलबार
काठमाडौं - राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फ पारस र महिलातर्फ सावित्रा दशककै उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेटका मुख्य प्रशिक्षक जगट टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
कोरोना महामारीका कारण गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएकाले खेलकुद पत्रकार मञ्चले यो वर्ष उत्कृष्ट पुरुष, महिला र प्रशिक्षक दशकको प्रदर्शनका आधारमा छनोट गरेको हो ।
राखेपका पूर्व सदस्य सचिव शरदचन्द्र शाहलाई मरानोपरान्त लाइभ टाइभ एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ भने गत वर्ष नेपाललाई एक मात्र अन्तर्राष्ट्रिय सफलता दिलाउन सफल धाविका पुष्पा भण्डारी र लामो समय खेलकुदमा चिकित्सा सेवामार्फत सेवा पुर्याएका अजय राणालाई स्पेशल अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा एसियाली खेलकुद पत्रकार महासंघका अध्यक्ष सताम अल साहली एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । गत वर्ष थ्री नेसन्स कप जितेको राष्ट्रिय पुरुष फुटबल टोली टिम अफ द एयरबाट हुँदा पिपल्स च्वाइस अवार्ड टेबल टेनिस खेलाडी एलिना महर्जनलाई प्रदान गरिएको छ ।
दशकका उत्कृष्ट खेलाडी र प्रशिक्षक घोषित भएकालाई पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । अन्य अवार्डका विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।