STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डब्लुएनओको वर्ल्ड नेवाः हाजिरीजवाफ प्रतियोगिताका विजयी पुरस्कृत

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर १२, आइतबार

वल्र्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ) को आयोजनामा संचालन भैरहेको ‘पहिलो वल्र्ड नेवाः हाजिरी जवाफ प्रतियोगिता–११४१’ विजयी हुनेहरूलाई गत शनिवार एक समारोहका वीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । विश्वभरि छरिएर रहेका नेवाःहरूको अन्तर्राष्ट्रिस्तरको संगठन डब्लुएनओ एक दशक पुगेको अवसरमा उक्त हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगितामा यलबुक स्वां प्रथम, गुलाफ स्वां द्वितीय, सिन्हः स्वां तृतिय र अजू स्वां सान्त्वना भएको थियो । कार्यक्रममा प्रथम हुने समूहलाई ६०० अमेरिकी डलर, द्वितिय हुनेलाई ४५० अमेरिकी डलर, तृतिय हुनेलाई ३०० र सान्त्वना स्थान प्राप्तलाई १५० अमेरिकी डलरका साथै प्रमाणपत्र वितरण गरिएको थियो ।

नेपालका साथै अमेरिका, क्यानाडा, बेलायत, आयरल्याण्ड लगायतका देशबाट गरि कुल २० टीमको सहभागिता रहेको प्रतियोगितामा सहभागि प्रत्येक समूहलाई १५ अमेरिकी डलर र प्रमाणपत्र प्रदान गरिएको थियो । कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरूका वीच आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिताका निर्णायकमण्डल, आर्थिक तथा विभिन्न रुपमा सहयोग गर्नु हुने महानुभावहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

डल्लु लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथिमा जूम प्रविधि मार्फत भर्चुअल व भौतिक उपस्थितिमा डब्लुएनओका अध्यक्ष सिजन श्रेष्ठ (अमेरिका)को सभापतित्वमा भएको कार्यक्रम नेपालको राष्ट्रिय गान र नेवाः राष्ट्रिय गानका साथ शुरु भएको थियो । कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता मूल आयोजक समितिका संयोजक विमलमान श्रेष्ठ (क्यानाडा) को स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा रञ्जना सैंजू (क्यानाडा)बाट सितारमा मंगलधुन र चर्चित सरोदवादक सुदर्शन राजोपाध्यायले नेवाः गीतमा सरोद वादन प्रस्तुति दिनु भएको थियो ।

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले शुभकामना सन्देश दिनु भएको कार्यक्रममा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, विशेष अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, करिब ५० वर्ष अघि सर्वप्रथम अन्तर हाइस्कुल नेपालभाषा हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्नु हुने परोपकार उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा साहित्यकार हितकरवीर सिंह कंसाकार, निर्णायकमण्डलको तर्फबाट साहित्यकार तथा नेवाः अगुवा मल्ल के. सुन्दर र कवयित्री प्रतिसरा सायमि, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, प्रश्नोत्तर निर्माण समितिका संयोजक केशरमान ताम्राकार (अमेरिका), प्रथम हुने टोलीका इसिका महर्जन लगायतले मन्तव्य राख्नु भएको थियो ।

Categorized in उपत्यका