तुइन घटनामा एसएसबीको संलग्नता छैन : भारतीय पक्ष
Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १६, शनिबार
तुइनबाट युवक खसेको घटनामा सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी भारतीय पक्षले गरिएको छ ।
शुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउनेबेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा व्याँसका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय एसएसबीको संलग्नता रहेको प्रत्यक्षदर्शीले बताउँदै आए पनि तर भारतीय पक्षले भने यस्तो नभएको दाबी गरेको हो ।
भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् । घटनाका बारेमा गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले आज लिखित जवाफ पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । ‘तुइन तर्न नसकेर युवक आफैँ नदीमा खसेका हुन्,’ उनले भने, 'बाहिर आएजस्तो भारतीय एसएसबीको संलग्नता नभएको पत्र आएको छ ।’
एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको कुरो पत्रमा उल्लेख गरेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेको बताउँदै आएका छन् ।
धामीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण स्थानीय र राष्ट्रिय अनुन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Categorized in राजनीति