STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुनसरीका अधिकांश क्षेत्र जलमग्न

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १९, शनिबार

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरू डुबानमा परेका हुन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरू डुबानमा परेका छन् ।

त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएर सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षासँगै खोलाहरूमा जलस्तर बढको छ । सुनसरी, बूढी, गडनलगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यता सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन भएको छ ।  कोसी नदीमा अहिले  २ लाख क्यूसेकभन्दा बढी पानी बगिरहेको छ । सुनसरी प्रशासनले जनाएअनुसार यतिबेला सप्तकोसी नदीमा पानीको बहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको जलस्तर बढेसँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्तिसमेत बालिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बहाव बढे पनि खतरा भने नरहेको बताए । उनले तटीय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिए ।

Categorized in अपराध-दुर्घटना