बाढीको वितण्डा : पाँच दिनमा १६ को मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ५, शनिबार
काठमाडौं - मनसुन सुरु भएसंगै आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो पाँच दिनमा १६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन–तीन तथा सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान जुम्ला र बाजुरामा एक–एक जना रहेका गृह मन्त्रालयले जनाएको छ ।
प्रकोपमा परेर २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।
बेपत्ता भएका २२ मध्ये २० जना सिन्धुपाल्चोकमा छन् । बाजुरा र रूपन्देहीमा एक–एक जना बेपत्ता रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना