STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाका कारण लेखापढी व्यवसायीको महाधिवेशन स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २, आइतबार

काठमाडौं– कोरोना भाइरसका कारण नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही चैत १४–१६ गते बुटबलमा महाधिवेशन हुने तय गरिएको थियो । तर कोरोना भाइरसको प्रभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो । कोरोना भाइरसका कारण देशको अवस्था अनुकूल नभएकोले महाधिवेशन स्थगित गर्नुपरेको केन्द्रीय अध्यक्ष सीताराम दाहालले जानकारी गराएका छन् । कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन सरकारले देशभर सभा, सम्मेलन, भेला, जमघट, भोजभतेर नगर्न/नगराउन आह्वान गरेकोले पनि एसोसिएसनको महाधिवेशन स्थगित गरिएको हो । ‘सम्भावित महामारीबाट देशबासीलाई सुरक्षित राख्न सरकारद्वारा चालिएको कदममा सहयोग पुर्याउनु सम्पूर्ण जिम्मेवार नागरिक एवं संघ–संस्थाको कर्तव्य हुन्छ’ अध्यक्ष दाहालले भने, ‘यसै विषयलाई मध्यनगर गर्दै यस नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको मिति २०७६ चैत १४ देखि १६ गते रुपन्देही जिल्लाको बुटबलमा आयोजना तय गरिएको आठौँ राष्ट्रिय महाधिवेशन कार्यक्रम हाललाई स्थगित गरिएको छ ।’ देशको अवस्था अनुकूल भएपछि यथासम्भव चाँडो महाधिवेशन सम्पन्न गरिने पनि उनले जानकारी दिए । महाधिवेशनको मिति स्थगित भए पनि इकाई, जिल्ला लगायत सबै समितिहरुको नियमित बैठक, प्रतिनिधि छनौट, सहयोग संकलन, प्रचारप्रसार, प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयमा प्रेषित गर्ने/गराउने कार्य, सहभागिता शुल्क लगायतका रकम पठाउने र बुझ्ने कार्य, केन्द्रीय समिति र महाधिवेशन सहआयोजकले गर्नुपर्ने तयारी सम्बन्धी अन्य आन्तरिक कामहरुमा भने यथावत रुपमा सूचारु राख्न पनि अध्यक्षले सबै समितिहरु र सदस्यहरुलाई अनुरोध गरेका छन् । अध्यक्ष दाहालले उक्त रोगको प्रकोपबाट हुन सक्ने महामारीबाट आफू, आफ्नो परिवार, समाज र देशबासीलाई सुरक्षित राख्न आवश्यक उपायहरु अवलम्बन गर्न र सो सम्बन्धी विषयमा सचेतना अपनाउन समेत सबैमा अपिल गरेका छन् । सो महाधिवेशन स्थगित सम्वन्धी सूचना राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशित भइसकेको जानकारी अध्यक्ष दाहालले दिए ।
Categorized in राष्ट्रिय