“पहिचानको विषयलाई व्यवस्थित गर्न साझा अवधारणा आवश्यक”
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायको पहिचानको विषयलाई व्यवस्थित गर्न साझा अवधारणा निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
आज रुपन्देहीको मणिग्राममा थारु आयोगले आयोजना गरेको छलफलमा उहाँले थारु समुदायको ज्ञान, सीप र प्रविधिको क्षेत्रमा काम गर्न सकिने बताउनुभयो । अध्यक्ष चौधरीले सो समुदायको इतिहासको विस्तृत अध्ययन गर्ने काम भइरहेको जानकारी दिँदै भाषाको कठिनाइ, कठरिया र राना थारुको अलग रूपमा सूचिकृत हुने विषय समस्याको रूपमा देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मातृ भाषामा शिक्षा नहुँदा सिकाइ क्षमता कमजोर देखिएको छ ।” अध्यक्ष चौधरीले थारु समुदायको इतिहास, संस्कृति र भाषा संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्दै आयोगले राय दिने काम गर्छ भन्नुभयो ।
प्रदेश नं ५ का प्रदेशसभा सदस्य तुल्सी चौधरीले थारु समुदाय मधेसी नभएको बताउँदै थारु समुदायको वेषभूषा लोपोन्मुख भएको बताउनुभयो । अर्का प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले थारु समुदायको संस्कृति सङ्ग्रहालयमा खोज्नुपर्ने अवस्था आएको उल्लेख गर्दै थारु समुदायभित्रको बडघरको संरचनालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै अर्का प्रदेशसभा सदस्य दीपेश थारुले रैथाने थारुको लिपि अहिलेसम्म पनि नभेटिएकोमा चिन्ता व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य पुष्पा थारुले शिक्षा र राजनीतिमा थारुको पहुँुच कम भएकोले थारु समुदायको सशक्तिकरण आवश्यक भएको बताउनुभयो ।
थारु आयोगका सचिव आन्नदराम रेग्मीले थारु समुदायको आर्थिक, सामाजिक रूपान्तरणका लागि काम गर्न खोजिएको जानकारी दिँदै विभिन्न जिल्लामा सुझाव सङ्कलनको काम भएको बताउनुभयो ।
थारु समुदायको मुख्य समस्या, थारु समुदायको विषयमा नीति तथा कार्यक्रम सिफारिस गर्दा कस्तो प्रक्रिया अवलम्बन गर्ने, थारु समुदायको आर्थिक अवस्था कसरी बलियो बनाउन सकिन्छ, थारुको सांस्कृतिक सम्पदालाई कसरी संरक्षण गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो ।
पछिल्लो जनगणना प्रतिवेदन २०६८ अनुसार नेपालको कूल जनसङ्ख्यामध्ये १७ लाख ३७ हजार ४७० थारु समुदायको जनसङ्ख्या रहेको थियो । नेपालको तराई भू–भागमा बस्दै आएका थारु समुदायको आफ्नै भाषा, संस्कृति, वेषभूषा र सभ्यता रहेको छ । सो कार्यक्रममा पूर्वमन्त्री गोविन्द चौधरी प्रदेशसभा सदस्य धनकली चौधरी, लोटी चौधरीलगायतले थारु अधिकारको विषयमा बोल्नुभएको थियो ।
Categorized in राष्ट्रिय