STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘विशेष कारण’ले आज बाेलाइएकाे वाग्मती प्रदेशसभाको बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १९, सोमबार

हेटौंडा – सोमबार दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको भएपनि आइतबार राति स्थगित भएको सूचना प्रदेशसभा टाँसिएको थियो ।

पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव माघ ९ गतेको प्रदेशसभा बैठकमा टेबुल गरिएको थियो ।

अविश्वासको प्रस्तावको विषयमा मतविभाजनका लागि कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले प्रतिवेदन नबुझाएका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ ।

सूचना टाँसेर प्रदेशसभाको बैठक स्थगित गरिएको विषयमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेकपाको दाहाल–नेपाल पक्षले पत्रकार सम्मेलन गरी आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिरहेको संसदीय दलका उपनेता सालिकराम जम्मकट्टेलले जानकारी दिए ।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् । वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य छन् ।

Categorized in राजनीति