‘लकडाउन’ नियम उल्लंघन गरे ६ महिना कैद !
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ११, मंगलबार
काठमाडौं– सरकारले कोरोनाभाइरसको संक्रमण रोक्ने उपायको रुपमा चैत ११ गते मंगलबारदेखि एक हप्ताकोलागि ‘लकडाउन’ गरेको छ । अहिलेको विषम परिस्थितिमा कसैले पनि यस नियमको उल्लंघन गरेमा ६ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनसक्ने घोषणा पनि सरकारले गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट नेपाललाई बचाउन यही चैत १८ गतेसम्म बिहानको ६ बजेदेखि बेलुकाका ६ बजेसम्म घरबाट ननिस्कन सबैमा आग्रह गरेको छ ।
‘लकडाउन’को समय अत्यावश्यक सेवाका सवारीहरु एम्बुलेन्स, दमकल, औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सुचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन एवं फोहरमैला संकलन, स्वास्थ्य र सुरक्षा निकायका सवारीसाधन भने चल्न पाउनेछ ।
पत्रकारहरुलाई समाचार संकलन सहज बनाउन प्रशासनले पासको व्यवस्था गरेको छ । विनापास पत्रकारहरु बाहिर निस्कन नपाउने नियममा उल्लेख छ ।
Categorized in राष्ट्रिय