STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘फास्ट ट्र्याकको कारण रातो मछिन्द्रनाथ जात्रा बन्द हुने’

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार

२८ गते वृहत दबाबमूलक कार्यक्रम घोषणा
काठमाडौं– उपत्यकाको जीवन्त एवं अमूर्त सम्पदाको रुपमा रहेको बुंगद्यः जात्रा अर्थात रातो मच्छिन्द्रनाथको जात्रा बन्द हुने अवस्थामा पुगेको छ । बुंगमती जन सरोकार समितिका संयोजक अष्टबहादुर महर्जनले जात्रा बन्द हुने अवस्थामा पुगेको बताएका छन् । गमती र खोकनामा फाष्ट ट्र्याक, हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बागमती करिडोर, रेलमार्ग निर्माण गर्ने अवस्थामा बुगंमती र खोकना समेत नरहने बताउँदै त्यस्तो अवस्थामा रातो मच्छिन्द्रनाथको जात्रा समेत बन्द हुने उनले बताए । बुंगमती र खोकना क्षेत्रमा राष्ट्रिय गौरवका योजनाहरु फाष्ट ट्र्याकदेखि बाहिरी चक्रपथसम्म निर्माण गर्दा खोकनादेखि बुंगमतीका सबै नेवार समुदाय विस्थापित हुनुपर्ने र त्यहाँ भएका कला, संस्कृति नष्ट हुने अवस्थामा रातो मच्छिन्द्रनाथको जात्रालगायतमा असर पर्ने महर्जनले बताए । ब्वासि गुठी, बुंगद्यःसँग सम्बन्धित पानेजुहरुसँग जोडिएको गुठीलगायत अधिकांश गुठीहरुको जग्गा फाष्ट ट्र्याकमा परेका कारण जात्रा प्रभावित हुने जानकारी महर्जनले दिए । कुरुवाकुंबाट बुंगद्यः जात्राका लागि देवता ल्याउनुपर्ने बाटो, कुमारी चौर र विभिन्न गुठीका जग्गाहरु समेत फाष्ट ट्र्याकमा परेका कारण अबका दिनमा रातो मच्छिन्द्रनाथ जात्राका लागि जनप्रदर्शन तथा आन्दोलन गर्न लागेको समेत महर्जनले बताए । बुंगमती जन सरोकार समितिका संयोजक एवं स्थानीयवासी अष्टबहादुर महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा बन्द हुन नदिन, बुंगमती र खोकनालाई बचाउनका लागि आफूहरुले माघ २८ गते मंगलबार दबावमूलक कार्यक्रमको रुपमा जन प्रदर्शन गर्न लागेको समेत जानकारी दिए । उहाँले बुंगमती जन सरोकार समिति र खोकना जन सरोकार समितिको संयुक्त आयोजनमा मंगलबार बिहान १०ः३० बजे जाउलाखेलमा सांस्कृतिक बाजागाजासहित जम्मा भई जनप्रदर्शन गर्दै फिब्व ख्यः माइतीघर मण्डलमा जाने कार्यक्रम रहेको बताए । खोकना र बुंगमती बचाउनका लागि सबै उपत्यकावासी सो कार्यक्रममा सहभागी हुने समेत महर्जनले अपील गरेका छन् । मंगलबारको जनप्रदर्शनलाई प्रभावकारी बनाउनका लागि उपत्यकाका संस्कृतिसम्बन्धी अभियन्ता, नेवार जातीय संघसंस्थाका प्रतिनिधि, नेवार अगुवाहरु, सडक विस्तार पीडित संघर्ष समितिका पदाधिकारीदेखि विभिन्न व्यक्तिहरुसँग आइतबार ब्यापक छलफल भएको र मंगलबारको प्रदर्शनमा सहभागी हुने प्रतिबद्धता समेत जनाएको महर्जनले जानकारी दिए ।
Categorized in उपत्यका