STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘पहिचानको आधारमा संविधान संशोधन हुनुपर्छ’

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २७, सोमबार

काठमाडौं – थरुहटको घोषित आन्दोलन, संविधान संशोधन र पहिचानको आधारमा संविधान संशोधनसहित ११ प्रदेश विषयक काठमाडौंमा शनिबार माघ २५ गते एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको नेपाः ब्यांक्वेटमा आयोजित सो कार्यक्रममा राजनीतिक विश्लेषक सीके लालले अब संविधान संशोधनमात्रले नपुगी नयाँ संविधान नै लेखिनुपर्नेमा जोड दिनुभयो । यसैगरी राजनीतिक विश्लेषण युग पाठकले पहिचानको आन्दोलनसँगै आर्थिक मुद्दालाई पनि सँगै लानुपर्नेमा जोड दिनुभयो । पाठकले नेपालको पहिचानको मुद्दा आदिवासी जनजाति, थारु र मधेसीको मुद्दा मात्र नभई नेपाललाई समृद्ध गर्ने मुद्दा भएकोले आर्थिक पक्षलाई पनि सँगै लानुपर्ने बताए । कार्यक्रममा बोल्दै अर्का राजनीतिक विश्लेषक विजयलाल कर्णले आदिवासी जनजाति, मधेसी, थारु र उत्पीडित वर्गको अधिकार लिनको लागि संयुक्त आन्दोलनको विकल्प नभएको जनाए । कर्णले भने, “यसअघि पनि धेरै आन्दोलन भइसकेको तर आदिवासी जनजाति, थारु, मधेसी र उत्पीडित जनताको अधिकार अझै प्राप्त हुन नसकेकोले अबको आन्दोलन राजनीतिक नभई पहिचानको आन्दोलन हुनुपर्छ ।” नेवार अगुवा एवं मानवाधिकारवादी मल्ल के. सुन्दरले आदिवासी जनजाति, थारु, मधेसी र दलितको आन्दोलनमा सम्बनिधत जातिका नेताहरु नै बाधक रहेको बताए । उनले पहिलो संविधानसभापछि गठित राज्य पुनर्संरचना आयोगले १०+१ को अवधारणा ल्याएको भए पनि त्यसको विरोध आदिवासी जनजातिका नेता एवं दलित नेताहरुले नै गरेको, यही विरोधका कारण आयोगको सो अवधारणा लागु हुन नसकेको बताए । आयोगले सरकारलाई सुझाव दिन प्रतिवेदन तयार गर्ने क्रममा भएको छलफलमा राजनीतिकभन्दा पनि जातीय रुपले दुई कित्ता भएको बताउँदै मल्लले भन्नुभयो, “त्यस समय जसले आयोग बनाएको हो, त्यसमा एकजना बाहुन, छजना आदिवासी जनजाति, थारु, मधेसी र दलित परेको भए पनि १०+१ को अवधारणा पारित हुन नसकेको हो ।” नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजयप्रकाश सैंजुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, आदिवासी जनजाति महासंघका पूर्व महासचिव ओम गुरुङ, लिम्बुवान मुक्ति मोर्चाका कुमार लिम्बु, नेवार अगुवा डा. महेशमान श्रेष्ठ, थारु आन्दोलनका नेता लक्ष्मण थारुलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा वक्ताहरुले फागुन १ देखि हुन थरुहट आन्दोलनको कार्यक्रममा सक्रिय सहभागिता जनाउन अपीलसमेत गरेका थिए । स्मरणीय छ, यसअघि नै फागुन १ गते थरुहट आन्दोलनले धनगढीमा आमरण अनशनको कार्यक्रम अघि सारिसकेको थियो । नेपाः राष्ट्रिय पार्टी, संघीय लोकतान्त्रिक राट्रिय मंच, खम्बुवान राट्रिय मोर्चा, खसान राष्ट्रिय संघर्ष समिति, नेपाल राष्ट्रिय परिषद र थरुहट थारुवान राट्रिय मोर्चाको संयुक्त आयोजनामा सो अन्तक्र्रिया भएको थियो ।
Categorized in राजनीति