STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘दुराडाँडा महोत्सव’ नयाँ वर्षमा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २७, बुधबार

शैक्षिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको लमजुङ दुराडाँडामा ‘ऐतिहासिक दुराडाँडा महोत्सव–२०७६’ हुने भएको छ । दुराडाँडा सेवा समाज र दुरा सेवा समाजको मुख्य आयोजनामा ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न वैशाख १ देखि ३ गतेसम्म उक्त महोत्सव गर्न लागिएको हो । महोत्सव समितिले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी विसं २००६ मा उच्च जातिले हलो जोतेर ‘हलो क्रान्ति’ गरेको स्थान दुराडाँडामा महोत्सव गर्न लागेको जानकारी दिएको छ । दुराडाँडा सेवा समाजका अध्यक्ष इञ्जिनीयर निर्मल न्यौपानेले दुराडाँडाको ऐतिहासिक पहिचान, शान र मानलाई जीवन्त राख्न महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो । दुरा समाज नेपालका अध्यक्ष गोकुलप्रसाद दुराले दुराडाँडा क्षेत्रमा बसोबास गर्ने दुरालगायत विभिन्न जातजातिको भाषा, संस्कृति एवं स्थानीय लोककला, लोकलय, धार्मिक अनुष्ठान संरक्षण र संवद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो । शैक्षिक क्षेत्रको महत्वपूर्णस्थलका रुपमा रहेको दुराडाँडा क्षेत्रमा कालिका मन्दिर, पुरानकोट, हलोक्रान्ति स्थल, कोटेश्वरधाम बरबोट, हेसे होइतुङ गुम्बा, मालिका देवी, सुरभी गाईफार्म, विपी उद्यानलगायतका अवलोकनस्थल रहेका छन् । नेपाल राष्ट्र निर्माणको शुरुआत गर्ने पृथ्वीनारायण शाहका पूर्वज यशोब्रह्म शाहलाई विसं १५५० असार १५ मा सिन्दुरेढुङ्गामा सिन्दुरजात्रा गरेर राजगद्दी गरेको ठाउँसमेत दुराडाँडामा पर्छ । दुराडाँडा क्षेत्रमा साविकको दुराडाँडा, चन्द्रेश्वर, धुसेनी, सिन्दुरे, नेटा र पुरानकोट गाउँ विकास समिति समेटिएका छन् । दुराडाँडाभित्र कृषि, ग्रामीण पर्यटन, पर्यापर्यटन, खेल पर्यटन, लोककला, शिक्षा, महिला सशक्तीकरणलगायतको विकासका लागि महोत्सव गर्न लागिएको समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय