STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘कोरोना त्रास हटे कीर्तिपुर महोत्सव सुचारु’

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २३, शुक्रबार

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले आउँदो वैशाख १६ देखि २० गते हुन गइरहेको कीर्तिपुर नगर महोत्सव २०२० को तयारी गरिरहन स्थानीय कलाकारहरुमा आह्वान गरेका छन् । विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको कारण नेपालमा समेत सतर्कता अपनाएर भीडभाडको कार्यक्रम नगर्न सरकारी आदेश आइसकेको अवस्थामा हुनगइरहेको कीर्तिपुर महोत्सवको सम्बन्धमा भएको एक सम्मेलनमा कीर्तिपुरका मेयरले उक्त आह्वान गरेका हुन् । कीर्तिपुरको १ देखि १० वडाका सम्पूर्ण कलाकारहरुको नगरस्तरीय सम्मेलनमा मेयर महर्जनले भने, “विश्वभरि कोरोना भाइरहसको त्रास यथावत छ । सरकारले हुलमुल एवं भीडभाडको कार्यक्रम नगर्न भनेको छ । भिजिन नेपाल २०२० पनि स्थगित भइसकेको अवस्था छ । यस्तो अवस्थामा कीर्तिपुर नगरपालिकाले आयोजना गर्न लागेको कीर्तिपुर नगर महोत्सवको लागि आवश्यक तयारी गरिरहनू । सरकारले नगर्न आदेश दिए नगरौंला, त्यस समयसम्म कोरोनाको त्रास हटे महोत्सव सुचारु हुनेछ ।” बुधबार (फागुन २१) कीर्तिपुरका नयाँबजारस्थित कृष्ण क्याटरिङको हलमा भएको उक्त सम्मेलनमा उपमेयर सरस्वती खड्का रिजाल, कीर्तिपुर २ वडाका वडाध्यक्ष एवं पर्यटन संस्कृति सम्पदा विभागका प्रमुख रमेशमान डंगोल, ३ वडाका वडाध्यक्ष राजेन्द्र महर्जन, ७ वडाका वडाध्यक्ष राजकुमार माली, ९ वडाका वडाध्यक्ष गंगाराम महर्जन, १० वडाका वडाध्इक्ष अमन महर्जनलगायत संगीत, अभिनय क्षेत्रका कलाकारहरुको उपस्थिति थियो । उक्त सम्मेलनका संयोजक ७ वडाका वडाध्यक्ष एवं संगीतकार राजकुमार मालीले कीर्तिपुर महोत्सव २०२० भएमा सम्पूर्ण कलाकारले महोत्सवको सफलताको लागि सहयोग पाउनमा आफू ढुक्क रहेको बताएका थिए । उपमेयर रिजालले कीर्तिपुरका कलाकारहरुबीच उभिन पाएकोमा खुशी व्यक्त गर्दै कलाकारहरुकै सहयोगमा महोत्सव सफल हुने बताउँदै कलाकारको हित र संरक्षणमा नगरपालिकाले आवश्यक पहलकदमी गर्ने पनि बताएका थिए । कोरोना भाइरसको त्रासको कारण सरकारले महोत्सव नगर्ने आदेश दिएमा महोत्सव स्थगित गरी उचित समयमा गर्ने पनि बताएका थिए । सम्मेलनमा सहभागी कलाकारहरुले नगरपालिकाले आफ्नै स्वामित्वमा संगठन र अक्षयकोष खडा गरी कलाकारिता क्षेत्रको विकासमा कदम चाल्नुपर्ने विचार राखेका थिए । साथै, कलाकारहरुको नियमित भेटघाटको लागि स्थान उपलब्ध गराउनुपर्ने विचार पनि सम्मेलनमा प्रकट भएको थियो । महोत्सव स्थगित भए पनि आफ्नो कलाकारिता देखाउन नगरपालिकाले आवश्यक कार्यक्रम आयोजना गरिदिनुपर्ने विचार कलाकारहरुले राखेका थिए । सम्मेलनमा वीरप्रसाद भन्सारी, हरिशरण सायमि, पल्पसा डंगोल चम्सुरी, दीपा महर्जन, रानीशोभा महर्जन, वीरमाया महर्जन, राजेश महर्जन नेवाः, चण्डेश्वर महर्जन, ज्ञानबहादुर महर्जन, अमरलाल माली, सुन्दर महर्जन, सन्तोष महर्जन, सुविन श्रेष्ठ आदि कलाकार, संगीतकार तथा गायक गायिकाहरुको उपस्थिति थियो ।
Categorized in उपत्यका