STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘ओइ आकासी सर्ट, निलो पाइन्ट, म तिमीलाई मिस गर्छु’ (संस्मरण)

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ९, शनिबार

–प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’

सानोमा असाध्यै गुनगुनाएको एउटा गीत–पंक्तिमा पर्छ, 

‘दालभात तरकारी, हाम्रो स्कुल सरकारी’

आज कहाँ गए, ती स्वाभिमानी ओठ र यस्ता–यस्ता गीतका पंक्तिहरु 

कहाँ हराए, आकासी सर्ट र निलो पाइण्टप्रतिको गर्वहरु पनि । 

स्कुलमा दुईजना बिद्यार्थीको झगडा परेको थियो । एउटा साथीले अर्को साथीको कमीज तानेर च्यातिदिए । अर्को साथीले पनि प्रतिरोधस्वरुप अर्को साथीको लुगा धर्रर च्याते । च्यातेकै लुगा लगाएर घर गएका दुवैजना त्यसपछि कैयन दिन स्कुल आएनन् । पछि बुझ्दा पो थाहा पाइयो, सकी नसकी हाल्दिएको लुगा झगडा गरेर च्यातेर आयो भनेर दुवै साथीहरुलाई घरका अभिभावकले स्कुले लुगा नकिनिदिएको रहेछ । ‘बरु स्कुल छोडे, छोडोस म त लुगा किन्दिनँ’ भन्ने अभिभावकको अडान । छोराछोरीको पनि म त च्यातेको लुगा कुनै हालतमा लगाएर जान्न भन्ने आफनै अडान । त्यो अडानको द्धन्द्धमा एउटा साथीले नयाँ स्कुले लुगा जित्यो र उस्ले भविष्य पनि जित्यो, अर्को साथीले नयाँ लुगा हारे र भविष्य पनि हारे । यो थियो, सरकारी स्कुलको दुई दशकअघिको किस्सा । आज कोट लगाएर महँगो झोलामा पुस्तक सजाएर जाने बिद्यार्थीहरुको निम्ति एकादेशको कथा हुनेछ, यस्ता किस्साहरु । एक जोर स्कुले पोशाकको लागि उतिबेला गर्नुपर्ने संघर्षको वारेमा के थाहा दश जोर लुगा फेर्ने अहिलेका बिद्यार्थीलाई ? 

स्कुले जीवन याद गर्यो कि मेरो मानसपटलमा आउँछ, यस्तै यस्तै किस्साहरु । यस्तै किस्साको स्मृतिमा उदाउँछ, आकासी सर्ट र नीलो पाइण्ट । जीवनमा धेरै रंगको पोशाक लगाइयो, फालियो तर स्कुले जीवनमा लगाएको आकासी सर्ट र निलो पाइण्टमा जति माया अरु कुनै पोशाकमा लागेन । त्यस्मा बाल्यकाल गुटमुटिएर हो कि, गरिवीको मीठो बास्ना टाँसिएर हो, अथवा आमाको ममताको धागोले टालिने भएर हो ठम्याउन सकेको छैन । जहाँनिर च्यातिन्थ्यो, त्यो ठाउँ साँझपख आमाले टुकीको धमिलो प्रकासमा सियोले टालिदिनु हुन्थ्यो । भोलिपल्ट आफ्नो लुगालाई तन्दुरुस्त पाएर दंग परेर स्कुलतिर दुगुर्थे । 

मेरा कतिपय साथीहरुलाई, सरकारी बिद्यालयमै शिक्षा आर्जन गरेको प्रभावस्वरुप होला, जीवनको बीस अथवा पच्चीस बसन्त पछि पनि टाइ बाँध्न अरुको सहारा लिनु परेको थियो । टाइको गाँठो जानी नजानी बाँधे पनि फुकाउन अभिमन्युको चक्रब्यूह बनेको थियो । यस्तो कुराले कहिलेकाँही हीन भावना जागृत गथ्र्यो । राज्यले केही कुरामा होच्याएको भए पनि हामीभित्र एकप्रकारको स्वाभिमान मजबुत थियो । त्यही स्वाभिमानको आधारलाई टेकेर मनमनै भन्थ्यौँ, हामी अंग्रेजीमा कमजोर भयौँ तर आफनै राष्ट्रभाषा नेपालीमा बलवान पनि भयौँ । हामीले केही गुमाएका छौँ त केही पाएका छौँ । त्यतिबेला, हामी सरकारी बिद्यालयमा पढनेहरुको राष्ट्रिय स्वाभिमान थियो त्यो । देशको प्रधानमन्त्रीदेखि मुख्य सचिवले सम्म आफूले पढेको सरकारी बिद्यालयको ब्याख्या गर्दा, छाती गर्वले चौडा हुन्थ्यो । आफ्ना छोराछोरीलाई ‘हावर्ड’ पढाए पनि यिनीहरु सरकारी बिद्यालय नै छिचोलेका हुन भनी मन बुझाउथेँ । 

हाम्रो समुदायतिर मैले पढेको बिद्यालय राम्रै बिद्यालयमा गनिन्थ्यो । शिक्षकको समुहले समाजको प्रतिनिधित्व गथ्र्यो । प्रतिभावान बिद्यार्थीलाई आफनै तलबको पैसाले पुस्तक किनिदिने शिक्षकदेखि लिएर, बाहिर चियापसलमा चुरोटको खिल्लीले मुखलाई दागबत्ती दिएर आएर कक्षा कोठामा त्यही मुखले नैतिक शिक्षा पढाउन आउने गुरुसम्म हाम्रो स्कुलमा भेटिन्थे । समुदायमा सरकारी र निजि स्कुलमा खासै विभेद थिएन । एसएलसीमा सरकारी र निजि बिद्यालयका टपरहरुबीच चर्को प्रतिस्पर्धा हुन्थ्यो । कहिले त निजिका टपरलाई सरकारीका टपरले उछिन्थे पनि । निजि बिद्यालयबाट पचासौ बिद्यार्थीहरु वर्षेनी हाम्रो बिद्यालयमा भर्ना हुन आउँथ्यो । इन्द्रेणी त्यागेर हाम्रो ‘निलो’मा मिसिन आउँदा सवै बिद्यार्थी मन–मनमा समानताको स्वादिष्ट आभास थियो । शिक्षकहरुको बिद्यार्थीहरु प्रति असाध्यै प्रेमानुभाव थियो । त्यतिबेलाको माहौल हेर्दा लाग्थ्यो, मानौँ, बिद्यालय होइन, एउटा गुरुकुल हो । त्यही गुरुकुलमा द्रोणाचार्य पुत्र कैयन अशोकथामासँग कैयन अर्जुनहरुको प्रतिस्पर्धा हुन्थ्यो। अहिले कहाँ सम्भव छ, सरकारी बिद्यालयमा गुरुपुत्रहरुसँगको स्पर्धा ? आज गुरुका पुत्रपुत्रीहरु महँगा महँगा बिद्यालयमा पढछन् । छोराछोरीलाई रंगिन पोशाक गुटमुटाइ दिएर होला, आकासी सर्ट र निलो पाइण्टप्रति खासै श्रदा देखिँदैन । फलस्वरुप, आकासी सर्ट र निलो पाइण्ट गरिवले लगाउने पोशाकको प्रतिक भएको छ । बिद्यार्थी जीवनमा आफूले भोगेका सारा कष्टहरु चटक्कै बिर्सेका छन् । 

मैले १९९० सालको एसएलसी दिँदै गरेका बिद्यार्थीहरुको फोटो हेरेको छु । घाँसे मैदानमा जाँच दिँदै गरेका उनीहरुमध्य कतिका खुट्टामा चप्पलै थिएनन् । यो नेपालको सरकारी बिद्यालयको बिद्यार्थी इतिहासको पहिलो पुस्ताको कथा । मेरै बिद्यालयको कुरा गर्ने हो भने पनि, मेरो बिद्यालयको अघिल्लो पुस्ता बिद्यालयमा स्कुले पोशाकमा एउटा रातो त अर्को पहेँलो चप्पल लगाएर स्कुलतिर दुगुरे र उस्लाई थाहाँ थियो, यदि त्यो दुईरंगी चप्पललाई केही भएमा सलाइँले कसरी टाल्ने । फेरि त्यसपछिको अर्को पुस्ता, त्यही बिद्यालयमा त्यही पोशाकमा, पछाडि प्वाल परेका पाइण्ट लगाएर हिँडे र त्यही प्वाललाई आफ्नै चारपाँच थान कापी किटावले टालेर स्कुल गए । मैले पढेको बिद्यालयका धेरै पुस्ताले कमिज र पाइण्टको एउटै रंगको पीडा भोगे । जस्ले जे पीडा भोगे पनि, मेरो बिद्यालयका आज तहगत पुस्ताका सन्ततिहरु कोही मेयर, कोही सरकारी अफिसर त कोही डाक्टर भएका छन्, कोही इञ्जिनियर भएका छन् त कोही वकिल । त्यतिबेला अभिभावक पनि आफ्ना छोराछोरीको प्रगतिमा निकै खुसी देखिन्थे । अभिभावकका अभिब्यक्तिमा पनि आफ्ना छोराछोरी पढने स्कुलप्रति गर्वानुभूति प्रकटिन्थ्यो ।  

आज सरकारी बिद्यालयमा आफ्ना सन्तानलाई पढाउने अभिभावकको दिलचस्पि नै छैन । बरु आफू जस्तो दुख पनि गर्छन् तर छोराछोरीलाई निजि बिद्यालयमै पढाउँछन् । छोराछोरीलाई सरकारी बिद्यालयमा पढाउनु आफू गरिव हुनु र छोराछोरीलाई गरिब बनाउनु हो भन्ने सोचाइ आजका अभिभावकमा घनिभूत पाइन्छ । शिक्षक शिक्षिकाले नै आफ्ना सन्तानलाई निजि बिद्यालयतिर  उत्प्रवासी बनाएर यो सूचकमा धार लगाएको हो भन्दा अत्युक्ति नहोला । मेरो बिद्यालय आज नाजुक अवस्थामा छ । मेरो बिद्यालय मात्र होइन, देशैभरिका सरकारी बिद्यालयले भोगेको पीडा हो यो । सायद प्रधानमन्त्रीले पढेको बिद्यालयको अवस्था पनि आज यस्तै त होला नि ! सरकारी स्कुलहरुको देशैभरिको विसञ्चोमा एकाधवाहेक अरु कहाँ तन्दुरुस्त होला र ? सरकारी बिद्यालयप्रतिको श्रदा, आस्था, विश्वास, उत्सर्ग र रहरको रंग फेरिएको भए पनि आज पनि पोशाकको त्यो निलो र आकासी रग फेरिएको छैन । यो रंगले आज पनि मलाई स्कुले जीवन सम्झाउँछ र आफ्नो विगत सम्झेर धुरुधुरु रुन मन लाग्छ । त्यो पोशाकप्रति एउटा गजवको प्रेम ! जस्तो ब्याख्या पनि अपूरै होला ।  

आज पनि कोही बिद्यार्थी निलो पाइण्टमा देखियो भने स्कुले जीवनको सम्झना आउँछ । त्यो पोशाकमा आमाबुबाको अनुहार गाँसिएर आउँछ । भौतिकरुपमा ससारबाट अलबिदा भइसकेका गुरु गुरुआमाहरु फिस्स हाँस्छन् । यस्तै, यस्तै सम्झना लेख्दा मलाई आज पनि भन्न मन लाग्छ–ए निलो पाइण्ट, आकासी सर्ट, म तिमीलाई आज पनि मिस गर्छु । आज कोट लगाएर सरकारी कलम समात्नेहरुले आफ्नो स्कुल जीवनको संस्मरणमा थोरै मात्र मसी खर्चिदिए पनि आज, सरकारी स्कुलको यो बिजोग हुने थिएन ।

(लेखक कीर्तिपुर नगरपालिका ९ वडाका वडा सदस्य एवं चर्चित युवा साहित्यकार हुनुहुन्छ ।)

Categorized in विचार