STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

१६ वर्ष मुनिका बालबालिकालाई ‘एनिमल’ फिल्म देखाउने वन सिनेमाजलाई कारबाही

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १९, मंगलबार

काठमाडौं- भारतीय चलचित्र ‘एनिमल’ प्रर्दशनमा मापदण्ड उलङ्घन गरेको नयाँबानेश्वरस्थित चलचित्र हल वन सिनेमाजविरुद्ध कारबाही हुने भएको छ । चलचित्र विकास बोर्डले मापदण्ड विरुद्ध बालबालिकालाई भारतीय चलचित्र ‘एनिमल’ देखाएको पाइएको भन्दै कारबाहीको लागि सिफारिस गरेको हो ।  

सोमबार साँझ ६ः३० बजेको शोमा बालबालिकालाई टिकट बिक्री गरी चलचित्र देखाएको पाइएको बोर्डले जनाएको छ । छड्केका क्रममा मापदण्ड विपरित चलचित्र देखाएको पाइएपछि हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको अनुगमन समिति संयोजक राजु केसीले बताए ।

'कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौँ,' केसीले भने । 

कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुने उनको भनाई छ । सो घटनाबारे थप अनुसन्धान गरी बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए । सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी हो ।

Categorized in सिनेमा