STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

काठमाडौं, माघ ९ - निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्देशन दिएको छ । आयोगले २ माघमा राप्रपालाई पत्र पठाउँदै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्देशन दिएको हो ।

आयोगले राप्रपालाई पठाएको पत्रमा पार्टीकाे विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन उल्लेख छ । यो वाक्यांश संविधानको प्रस्तावना एवं भावना प्रतिकूल भएकाले हटाउनुपर्ने आयोगले बताएको छ ।

'विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दू राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन', आयोगले राप्रपालाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै आयोगले राप्रपाको झण्डामा रहेको गाई पनि हटाउन निर्देशन दिएको छ । राष्ट्रिय जनावर गाईलाई पार्टी विशेषले प्रयोग गर्न नपाउने उल्लेख गर्दै आयोगले झण्डासमेत फेर्न भनेको हो।

'विधानको धारा ४ (क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न हुन', आयोगको पत्रमा भनिएको छ।

तर राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आयोगको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत भएको बताएका छन् । विगतमा आयोगको यस्तै निर्देशनलाई अस्वीकार गरेको भए पनि पार्टीको वर्तमान नेतत्वले कुनै प्रतिक्रिया नजनाउनु र पत्र लुकाएर राख्नु आश्चर्यजनक भएको पनि उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

'निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दू राष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत छ । अस्विकार्य छ । विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ । माघ २ गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ?’, थापाले भनेका छन् ।

Categorized in राजनीति