हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार
झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न शुरु गरेको हो ।
केही दिनयता बाहुनडाँगीको बस्ती नजिकैको चिया बगान र अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित किसानका उखुबारीमा बच्चासहित आधा दर्जन हात्ती दिउँसै पसेर गाउँलेलाई आतङ्कित पारेपछि वन कार्यालयले जङ्गली हात्तीको आक्रमणबाट जोगिन आवश्यक पर्ने कुराहरु लेखेर पोस्टर टाँस्न थालेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।
पोस्टरमा सानो बच्चासहित हात्ती रहेको, जम्काभेटमा अचानक हात्तीको नजिक पुगेको अवस्थामा, चरिरहेको बेला जिस्काएर होहल्ला गरेमा, आगोको अगुल्टा वा कुनै वस्तुले हात्तीलाई हानेमा पनि आक्रमण गर्नसक्ने उल्लेख गरिएको छ । हात्तीको शारीरिक हाउभाउ हेरेर रिसाएको वा नरिसाएको थाहा पाउने तरिका र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने हाम्रा कर्तव्यको बारेमा समेत बँुदागत रुपमा पोस्टरमा उल्लेख गरिएको छ ।
उहाँका अनुसार झापाको हल्दिबारी, बुद्धशान्ति गाउँपालिका, भद्रपुर, अर्जुनधारा, मेचीनगर नगरपालिकाभित्र रहेका सामुदायिक वनमा १३ बढी रैथाने हात्ती रहेका छन् । किसानले लगाएको मकै, धान पाक्न शुरु गरेसँगै हात्ती गाउँ पस्न थालेको उहाँको भनाइ छ ।
प्रमुख घिमिरेले हात्ती प्रभावित क्षेत्रमा साइरनसहितको गाडी लिएर वन हेरालुहरुले दिनरात गस्ती गरिरहेको बताउनुभयो । मानव–हात्ती द्वन्द्वको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०६७÷६८ देखि चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा झापाका ३८ ले हात्तीका कारण ज्यान गुमाइसकेका छन् । मान्छेका कारण १० हात्ती मरेका उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय