STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्व. नवीन महर्जनको दोस्रो पुण्य तिथिमा कीर्तिपुृर कप बाघचाल (धुँकासा) प्रतियोगिता सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

स्व. नवीन महर्जनको दोस्रो पुण्य तिथिको अवसरमा आयोजित कीर्तिपुर कप बाघचाल(धुँकासा) प्रतियोगिता असार २१ गते शनिबार सम्पन्न भयो ।

असार २० गते शुक्रबारबाट सुरु भएको कीर्तिपुर नगरव्यापी बाघचाल (धुँकासा) प्रतियोगितामा कीर्तिपुर ४ वडाका भुन्टे दुलाल प्रथम, वडा नम्बर ३ का कृष्णबहादुर महर्जन दोस्रो तथा कीर्तिपुर वडा ९ का हिरा डंगोल व बलराम श्रेष्ठ तेस्रो हुनुभएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित गुतपौ टोलमा संचालित उक्त प्रतियोगिताका विजयी खेलाडीहरुलाई कीर्तिपुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अमन महर्जनले ट्रफि तथा मेडल हस्तान्तरण गर्नुभएको थियो भने वडा नम्बर ९ का वडाध्यक्ष तथा कार्यक्रमका अतिथि गंगाराम महर्जनले प्रमाणपत्र एवं नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

कीर्तिपुर खेलकुद विकास समाजका अध्यक्ष प्रदीप महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि १० वडाध्यक्ष अमन महर्जनले बाघचाल खेलको सम्बद्र्धनको लागि सक्दो योगदान गर्ने र वडा नम्बर १० बाट सहभागी प्रतियोगीहरुको दर्ता शुल्क ब्यहोरिदिने वचन पनि दिनुभएको थियो ।

यस्तै ९ वडाध्यक्ष तथा अतिथि गंगाराम महर्जनले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने र वडा ९ बाट सहभागी प्रतियोगीहरुको दर्ता शुल्क ब्यहोरिदिने वचन दिनुभएको थियो ।

प्रतियोगिताको आयोजना कीर्तिपुर खेलकुद विकास समाज र स्व. नवीन महर्जन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको थियो ।

कार्यक्रममा स्व. नवीन महर्जनकी धर्मपत्नी तथा स्व. नवीन महर्जन स्मृति प्रतिष्ठानकी संरक्षक चौथी महर्जनले पनि अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।

यस्तै उक्त कार्यक्रमा बाघचाल संघ नेपालका प्रवीण बस्नेत, बाघचाल प्रतियोगितामा राष्ट्रिय रुपमा प्रथम हुने राष्ट्रिय च्याम्पियन सागर महर्जन तथा दोस्रो हुने पानवीर द्योला पनि अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

स्व. नवीन महर्जनको तस्बीरमा माल्यार्पण गरी सुभारम्भ भएको उक्त कार्यक्रममा १ मिनेट मौनधारण गरिएको थियो ।

यस्तै कार्यक्रममा नवीन महर्जनका गीतहरुको यूट्युब च्यानल सुभारम्भको घोषणा पनि गरिएको थियो ।

कार्यक्रम स्व. नवीन महर्जनको बालसखा साहित्यकार एवं पत्रकार राजेन्द्रकुमार महर्जन ‘पुता’ले संचालन गर्नुभएको थियो ।

स्व. नवीन महर्जन प्रतिभावान् संगीतकर्मीको रुपमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो भने उहाँ एक सम्पूर्ण खेलकुदका कुशल खेलाडी एवं खेलकुद पत्रकारको रुपमा पनि परिचित हुनुहुन्थ्यो ।

स्व. महर्जन बाल्यकालदेखि नै इन्द्रेणी सांस्कृतिक परिवार(इसास) किपूमा बाद्यवादकको रुपमा आबद्ध हुनुभएको थियो भने उहाँ गुतपौ भजन खलःका पनि संगीतकर्मी हुनुहुन्थ्यो । उहाँद्वारा रचित गीत संगीतहरु अति नै कर्णप्रिय छन् भने विभिन्न एफएमबाट प्रसारित पनि भइरहेको छ ।

स्व. नवीन महर्जन एक सफल म्याराथुन धावक पनि हुनुहुन्थ्यो भने एक फुटबल खेलाडीदेखि विभिन्न खेलकुदमा निपूण हुनुहुन्थ्यो । उहाँले खेलकुद पत्रकारको रुपमा कीर्तिपुरमा प्रकाशित भएको लकस साप्ताहिकदेखि विभिन्न पत्रपत्रिकामा नियमित खेलकुद स्तम्भकारको रुपमा पनि काम गर्नुभएको छ ।

स्व. नवीन महर्जन कीर्तिपुर नगरपालिका १ वडा बाकुननी टोलका बासिन्दा हुन् । उहाँका धर्मपत्नी तथा एक छोरा र एक छोरी हुनुहुन्छ ।

Categorized in खेलकुद