STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य सुरक्षा अपनाएर सेतो मछिन्द्रनाथको जात्रा यसरी हुँदैछ

Janjati Khabar – निश्चल | २०७७ चैत्र २९, आइतबार

काठमाडौं, चैत २९ – कोरोना भाइरस संक्रमणको जोखिमबीच अलमल अवस्थामा रहेका काठमाडौं उपत्यकाका विभिन्न जात्राहरु यस वर्ष स्वास्थ्य सुरक्षा अपनाएर गर्न जात्राआवद्ध विभिन्न संघसंस्था एवं गुठीहरुले निर्णय गरेका छन् ।

यसैक्रममा काठमाडौंको ठूलो जात्रा सेतो मछिन्द्रनाथको रथयात्रा पनि स्वास्थ्य सुरक्षा अपनाएर संचालन गर्ने निर्णय भएको सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।

जात्रालाई भव्य एवं सभ्य रुपमा मनाउन व्यवस्थापन समितिका अध्यक्ष नीलकाजि शाक्यको सभापतित्वमा गत हप्तादेखि तयारी बैठकहरु बस्दै आइरहेको थियो । यसक्रममा तीन दिनअघि ‘सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति ११४१’ गठन भएको थियो ।

भक्तपुरमा हुँदैआएको बिस्काः जात्रामाथि यस वर्ष प्रशासनले रोक लगाएको सम्बन्धमा  व्यवस्थापन समितिको बैठकले विरोध जनाउँदै सार्वजनिक रुपमा वक्तव्य निकालेको थियो । यसैगरी, बिस्काः जात्रा संचालन गर्नुपर्ने माग राखी भएको भक्तपुरको आन्दोलनमा पनि व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरुले सक्रिय रुपमा सहभागी हुन समितिका अध्यक्ष शाक्यले अनुरोध गरेको थियो ।

रथजात्रा व्यवस्थापनको लागि समितिले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । स्वयंसेवक, स्काउट, रेडक्रस, सुरक्षा निकाय समन्वय, विपद् व्यवस्थापनलगायत विभिन्न संघसंस्था एवं क्लबहरुसित समन्वय गर्न गणपतिलाल श्रेष्ठको संयोजकत्वमा एक उपसमिति गठन गरिएको छ ।

यसैगरी सांस्कृतिक बाजा खलकहरुसँग समन्वय गर्न पंच महर्जनको संयोजकत्वमा अर्को उपसमिति पनि गठन गरिएको छ ।

यसैगरी रथयात्राको रुट निरीक्षण, स्वास्थ्य सेवा परिचालन, सडक विभाग, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणसँग समन्वय गर्न अमित वज्राचार्यको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको छ ।

रथ निर्माणको निरीक्षण, गुठी संस्थानसँग समन्वय गर्न सत्यनारायण डंगालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ भने घःमाः, चुकूको व्यवस्थापनको लागि नरेश महर्जनको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

यसैगरी, कोरोना भाइरस संक्रमणको जोखिम हटाउन जात्रा अवधिभर आवश्यक स्वास्थ्य सामग्री तयारीको लागि मछिन्द्र क्लबको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

प्रचारप्रसार र सञ्चार माध्यम संयोजन गर्न राजीव राजोपाध्यायको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । जात्रामा महिला सहभागिताको लागि नानीहेरा महर्जनको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

गठित सम्पूर्ण उपसमितिहरुको बैठक यही बैशाख ५ गतेभित्र सम्पन्न गर्ने निर्णय पनि व्यवस्थापन समितिले गरेको छ ।

यसैक्रममा भोलि सोमबार रथ तान्ने स्वयंसेवकहरुको बैठक बस्न लागेको छ ।

स्मरणीय छ, जात्राको संयोजक नीलकाजि शाक्यको नेतृत्वमा गएको एक टोलीले गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी जात्राको पहिलो दिन असन जात्राको अवसरमा राष्ट्रपतिलाई मछिन्द्रनाथको दर्शनार्थ अनुरोधपत्र पनि हस्तान्तरण गरिसकेको छ ।

गत वर्ष कोरोना भाइरस संक्रमणको कारण सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित भएको थियो भने यस वर्ष स्वास्थ्य सुरक्षा अपनाएर जात्रा सुचारु गर्ने निर्णय भएपछि काठमाडौंमा जात्राको लहर पुनः सुरु भएको छ ।

Categorized in उपत्यका