स्वास्थ्य कार्यालय उद्घाटन
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार
प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयअन्तर्गत हेटौँडामा स्थापित स्वास्थ्य कार्यालय आज प्रदेशसभा सदस्य एवं नेकपाका मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देलले उद्घाटन गर्नुभयो ।
सो कार्यालयले सरकारी तथा गैरसरकारी रुपमा सञ्चालित स्वस्थ्य संस्थाको अनुगमन निरीक्षण कार्यक्रम स्वीकृति गर्नाका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा फैलिएका रोगको नियन्त्रण, चेतना अभिवृद्धिलगायत तालीम सञ्चालन गर्ने भएको छ । उक्त कार्यालयमा १४ जनाको दरबन्दी छ । प्रदेशसभा सदस्य सिग्देलले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई इमान्दारीपूर्वक कार्य गर्न सुझव दिनुभयो ।
अर्का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले सुविधा सम्पन्न सुगम क्षेत्रमा मात्र कर्मचारी जाने र दुर्गम क्षेत्रमा नजाने गरेकाले स्वास्थ्य क्षेत्रमा समस्या परेको बताउनुभयोे ।
त्यसैबीच अनेरास्ववियु तथा अनेरास्ववियु ९क्रान्तिकारी० एकाइ कमिटी वन क्याम्पस हेटौँडाको संयुक्त आयोजनामा आज स्वागत तथा फेरि भेटौँला कार्यक्रम गरियो । नेकपाका स्थायी कमिटीसदस्य बेदुराम भुसालले कार्यक्रममा नौ दशक लामो सङ्घर्षले शिक्षा क्षेत्रमा गरिएको परिवर्तन अहिलेको परिस्थितिमा पर्याप्त नभएको बताउनुभयो । शिक्षा क्षेत्रमा थप परिवर्तन तथा सुधार ल्याउन युवा तथा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने हुँदा इमान्दारीपूर्वक त्यसतर्फ लाग्न उहाँले अनुरोध गर्नुभयो ।
अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले सरकारी तलब–भत्ता खाने कर्मचारीले आफ्ना छोराछोरीलाई निजी विद्यालय होइन सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गर्दै अनेरास्ववियु देशकै सबैभन्दा ठूलो विद्यार्थी सङ्गठन बन्न लागेकाले विद्यार्थीको समस्या समाधान यो सङ्ठन सक्षम हुनेमा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य सिग्देल, अनेरास्वियुका केन्द्रीय उपाध्यक्ष रेश्मी आचार्य, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पविना लामा, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, सोही उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देललगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


