STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २१, बिहिबार

काठमाडाैं  - त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले विद्यार्थी संगठनको सल्लाहअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्न सिफारिस गरेको छ ।

विद्यार्थी संगठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी त्रिवि कार्यकारी परिषद्लाई स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए ।भोलि त्रिवि कार्यकारी परिषद्को बैठकले विद्यार्थी कल्याण परिषद्ले तय गरेको मितिलाई अनुमोदन गर्ने उनले जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउनेछ । त्रिविले यसअघि त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग पनि स्ववियु निर्वाचनका सम्बन्धमा छलफल गरेको छ ।

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलोपटक २०७३ सालमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

१४ वर्षदेखि नियमित नभएको स्ववियु निर्वाचनको मिति सिफारिसपछि विद्यार्थी संगठनहरु निर्वाचन तयारीमा जुट्न थालेका छन् । विद्यार्थी नेताहरु अब भने चुनाव हुनेमा ढुक्क देखिएका छन् ।

Categorized in शिक्षा