STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २६, बिहिबार

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ । १३औं सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जितेकी छन् भने कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले दुई स्वर्ण जितेका छन् । यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिइने प्रधानमन्त्रीले बताए । टिम इभेन्टतर्फ नेपालले पुरुष फुटबल, तेक्वान्दोको पुम्से र कराँतेको काता र गल्फ टिममा नेपालले स्पर्ण पदक जितेको छ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन् । तर टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडीहरुले कति पाउँछन् भन्ने खुलाइएको छैन । नेपालले महिला भलिबल, कबड्डीलगायतका टिम इभेन्टमा रजत र कांस्य जितेको छ । साथै पदक जित्ने टिमका म्यानेजर र अन्य सहयोगीले पाउने रकम पनि खुलाइएको छैन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि यसबारे प्रष्ट हुने जानकारी दिए । काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो । यो पटक भने पुरस्कार रकम झण्डै दोब्बर भएको छ । ‘हाम्रो जस्तो गरिव देशको सरकारले उचित सम्मान गर्‍यो भन्ने लाग्छ’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्दा हलमा सहभागीहरुले हुटिङसहित ताली बजाएका थिए ।
Categorized in खेलकुद