STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण सम्पदा सुहाउँदो छ : मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ६, शनिबार

काठमाडौँ महानगरपालिकाल सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ ।

यही योजना अनुरुप काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गर्नुभयो ।

सोही स्थानमा ४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको स्मरण गराउनुभयो । 

काठमाडौं महानगरले सम्पदा र भीड हुने क्षेत्रलाई हरेक वडामा प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरुप काम भइरहेको कुरा पनि  मेयर शाक्यले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भैरहेका पार्कमा पनि सौचालयलाई प्राथमिकतामा राखेको छ भने वडा–वडामा पनि यहि नीति अघि बढाएको छ ।   

सोही स्थानमा सम्पन्न  कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरुको लागि महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन सञ्चालन सुरु गर्नुभयो । त्यसपछि सम्बोधन गदै सार्वजनिक शौचालयको पहुँच बढाउँदै लैजान महानगरकाले पटक—पटक अध्ययन गरेको स्मरण गराउनुभयो ।  

महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले उक्त ठाउँलाई शौचालय पार्कका रुपमा विकास गर्ने वडाको योजना रहेको सुनाउनुभयो ।  

काठमाडौँ महानगरपालिकाले सहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्ने, पहुँच बढाउने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्टलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिक रुपमा सञ्चालन गर्ने जस्ता योजना अघि सारेको कुराको सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले जानकारी दिनुभयो ।  उहाँले महानगरपालिका को  सहरी योजना आयोगले काठमाडौंमा उपयुक्त हुने सार्वजनिक शौचालयका ढाँचा, लागत र स्थानको अध्ययन गरिसकेको पनि जानकारी दिनुभयो । 

गतवर्ष मंसिर १७ गते बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो भने यहि अनुरुप केही महिना अघि मात्रै पनि बढी भिडभाड हुने नयाँ बानेश्वर छक्कुपक्कु पार्कमा आधुनिक सौचालय निर्माणपछि हाल सञ्चालनमा छ । यसबाट पनि बायोग्याँस उत्पादन भैरहेको छ ।   

शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रबिधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जडान गरिएका छन् ।  त्यहाँ पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १/१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन् । स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन् ।  

नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका बिशेषता हुन् । शौचालयबाट उत्पादन भएको कम्पोट मल त्यहीँको बगैंचामा प्रयोग हुनेछ ।  

बायोग्याँसका लागि १० घन मिटरको प्लान्ट छ । यसबाट मासिक रुपमा १.५ सिलिण्ंडर बराबर ग्याँस उत्पादन हुने एरोशासनका राष्ट्रिय प्रतिनिधि प्रकाश  अमात्यले जानकारी दिनुभयो । यसलाई शौचालय पर्यटनको अवधारणाअनुरुप सञ्चालन, व्यवस्थापन र प्रवर्धन गर्न सकिन्छ । अमात्यकाअनुसार यसमा विद्यालयका बिद्यार्थी र पर्यटकहरुलाई सहभागी गराउने सकिनेछ । यस स्थानबाट दैनिक २ हजार बढी आन्तरिक पर्यटक स्वयम्भु जाने आउने गर्छन् ।

Categorized in उपत्यका