STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सधैं अगाडि रहने मुख्यमन्त्रीको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २१, सोमबार

बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणको क्रममा स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन संधै आफ्नो पहिलो कर्म हुने बताएका छन् ।

आइतबार पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणमा पछी मन्त्री महर्जनले आफु यहि संस्कृति, सम्पदामै खेल्दै हुर्केको भएकोले यसको औधी माया लाग्ने बताए ।

मन्त्री महर्जनले ‘स्थानीय संस्कृति, सम्पदाको महत्व मलाई राम्ररी थाहा छ । यसको संरक्षणको दायित्व राज्यको हो भन्ने पनि मैले बुझेको छु । यसको लागि म बागमति प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्नेछु’  भन्ने प्रतिबद्धता पोखे ।

यसै क्रममा मन्त्री महर्जनले पाटनका लायकू कुमारीको पनि दर्शन गरेका थिए । सोही अवसरमा उनले रत्नाकर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि निरिक्षण गरेका थिए ।

रत्नाकर महाविहार र सहकारीको निमन्त्रणामा मन्त्री महर्जन अवलोकन भ्रमणमा पुगेका थिए ।

सो अवसरमा रत्नाकर सहकारीका अध्यक्ष करुणारत्न बज्राचार्यले पाटन कुमारीको संरक्षणको दायित्व राज्यले लिनुपर्ने माग आफुहरुले मन्त्री महर्जन समक्ष राखेको जानकारी दिए । ।

‘पाटन कुमारीको लागि ललितपुर महानगरपालिकाबाट सानो सहयोग भन्दा राज्य पक्षबाट केही छैन । कुमारीको लागि आवश्यक व्यवस्था राज्यबाट हुनुपर्यो, कुमारीको दायित्व राज्यले बोक्नुपर्छ भन्ने माग हामीले मन्त्रीज्यूलाई राख्यौं’ अध्यक्ष बज्राचार्यले भने ।

आफ्नो मागप्रति मन्त्री महर्जनले सकारात्मक प्रतिक्रिया जनाएको पनि बज्राचार्यले जानकारी दिए ।

सो अवसरमा बागमति प्रदेश सांसद शैलेन्द्र बज्राचार्यको पनि उपस्थिती रहेको थियो । आफुले विगतमा पनि स्थानीय संस्कृति, सम्पदाको संरक्षणमा लागि नै रहेको बताउँदै सांसद बज्राचार्यले अब जन प्रतिनिधिको रुपमा यसका लागि अझ सशक्त र नतिजामुखी ढङ्गले अघि बढ्ने बताए ।

रत्नाकर महाविहार र रत्नाकर सहकारीको भ्रमण पछि  मन्त्री महर्जनले उज्वतदेब महाविहार, वनबहाःको पनि अवलोकन गरेका थिए ।

Categorized in उपत्यका