STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।
 
बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका सैनिक जवान सिंहको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । घटनालगत्तै तेनुवापट्टी गाउँका अधिकांश पुरुष गाउँ छाडेर भागेका छन् । गाउँमा महिला मात्रै रहेको र पुरुष नभेटिएकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । घटनामा संलग्नहरुको खोजी कार्य तीव्ररूपमा भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
यसैबीच घटनाको विरोधमा सोहपुरका स्थानीयवासीले अबरुद्ध गरेको सिरहाको सुखीपुर–बरियारपट्टी सडकखण्ड दोषीलाई पक्राउ गरी कारवाही गर्ने प्रतिबद्धतापश्चात सञ्चालन भएको छ ।
Categorized in अपराध-दुर्घटना