STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत हुने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगांैडा–कोत्रे सडकखण्डको मर्मत हुने भएको छ । स्थानीयवासीको दबाबपछि शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित जीर्ण सडकको मर्मत हुने भएको हो । राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै आइतबार स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए । 
स्थानीयवासीको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको सरोकारवालाको बैठकले तत्कालै उक्त सडकको मर्मत थाल्ने सहमति भएको हो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले र शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ सहितका जनप्रतिनिधि र स्थानीयवासीबीच भएको छलफलमा सडक मर्मत गर्ने सहमति भएको हो । आफूहरुको माग बमोजिम सडक मर्मत थाल्ने निर्णय भएको स्थानीयवासी हरिलाल रिमालले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, ‘सम्बन्धित निकायको वेवास्ताको कारण सडक मर्मतमा ढिलाई भएपछि बाध्य भएर सडक अवरुद्ध ग¥र्यौ, तत्कालै सम्बन्धित निकायको बैठक बसेर मर्मत थाल्ने सहमति भएको छ ।’ जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले तत्कालै उक्त सडकखण्डको मर्मत गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय तनहुँका प्रमुख विष्णु काफ्लेले निर्माण कम्पनीको लापरवाहीका कारण सडक मर्मतमा ढिलाई भएको जानकारी दिनुभयो । उहाँका अनुसार सडक मर्मतको जिम्मा पाएको रोशन कन्स्ट्रक्सन प्रालिलाई पटक–पटक ताकेदा गर्दा समेत सडक मर्मतको काम अगाडि बढ्न नसकेको हो ।
कार्यालयले निर्माण कम्पनीलाई तुरुन्त निर्माण कार्य थाल्न सूचना जारी गरेको छ । अन्यथा ठेक्का सम्झौता तोडी कार्यसम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हर्जना असुल गर्ने लगायतका कारवाही हुने कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ । कार्यालयले निर्माण कम्पनीलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई कम्पनीलाई कारवाही नगर्नुको कारण पेश गर्न सूचना जारी गरेको छ । 
Categorized in राष्ट्रिय