STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्तनपान कक्ष सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

जिल्ला प्रशासन कार्यालयले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेका बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउन यस्तो व्यवस्था गरिएको हो । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै गएको र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहज रुपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन भनेर स्तनपान कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चासमेत आउँछन्, सार्वजनिक स्थानमा लाजका कारण उनीहरुले दूध नखुवाउने गरेका छन्, बच्चा समस्यामा पर्ने, रुने कराउने हुन्छ, त्यसैले स्तनपान कक्ष बनाएका हौ ।” गण्डकी प्रदेश सरकारअन्तर्गतको शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाखको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको हो । कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाका लागि समेत विशेष व्यवस्था गरेको छ । जसले गर्दा उनीहरुको काम छिट्टै सम्पन्न हुनथालेको छ । प्रशासनको काम सहज गराउन कार्यालयले श्रव्यदृश्य नागरिक वडापत्र समेत राख्ने तयारी गरेको छ । केही समयअघि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्यपरीक्षण सुविधा समेत शुरुवात गरिएको छ ।
Categorized in राष्ट्रिय