STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर १०, सोमबार

कला , साहित्य र वाङ्गमय क्षेत्रमा अग्रणी स्थान अोगटेको त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने श्री रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको कुरा निकेतनका सदस्य सचिव नरेन्द्र राज प्रसाईले जानकारी गराएको छ ।

उनले दिएको जानकारी अनुसार नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई विशिष्ट योगदान गरेबापत प्रा.डा.सावित्री कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसै गरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशक अघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा विशिष्ट योगदानका निम्ति प्रा.डा.बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने निर्णय भएको छ ।

सदस्य सचिव प्रसाई ले बताए अनुसार पुरस्कारमा ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो ।

Categorized in साहित्य-कला