STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुविख्यात चलचित्र निर्देशक चेतन कार्कीको सम्झना

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ कार्तिक २३, बुधबार

चेतन कार्की प्रतिष्ठानको आयोजनामा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रसिद्ध चलचित्रकर्मी, गीतकार तथा संस्कृतिविद् चेतन कार्कीको ८५ औँ जन्मजयन्तीका अवसरमा उनको चलचित्र र सांस्कृतिक क्रियाशीलतालाई सम्झने काम गरिएको छ । 

चेतन कार्की प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले चेतन कार्कीसँगका केही स्मरण सुनाउँदै कार्की स्वाभिमानी भएको उल्लेख गरे । चेतन कार्कीले आफ्नो चलचित्र यात्राको शुरुअाति दिनहरुमा एक लेखकका रुपमा पाइला बढाउनु भएको थियो भने पछी उहाँ ले" विश्वास ” चलचित्रको निर्देशन गरी चलचित्र निर्देशकका रुपमा पाइला बढाउनु भएको थियो । 

गुरुङले भने, "देहरादूनका लैन छोकडा चेतन कार्की आर्मी कप्तानका छोरा थिए । तर उनले सेनामा जागिर खाएनन् । बरु कला, साहित्य, संस्कृति र सिनेमासँग जोडिएर एउटा उँचाइ कायम गरे ।"

चेतन कार्की प्रतिष्ठानकी संरक्षक कार्की पत्नी गंगा कार्कीले एउटा सर्जक कहिल्यै नमर्ने भन्दै चेतन कार्की आफ्नो पति मात्रै नभएर गुरु पनि भएको उल्लेख गरिन् । 

नृत्य स्रष्टा भैरवबहादुर थापाले चेतन कार्कीलाई पहिलो पटक सन् १९५८ मा देहरादूनमै भेटेको स्मरण गर्दै कार्कीले आफू काठमाडौं आउने र नेपालमै काम गर्ने कुरो सुनाएको बताए । 

कलाकार मोहन निरौलाले आफ्ना गुरु चेतन दाइले ‘चलचित्रमा प्रस्तुत हुने भाषा पनि शुद्ध हुनुपर्छ’ भन्दै फिल्म निर्माण गर्दा भाषा र व्याकरणमा पनि ध्यान दिने गरेको बताए ।

चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले चलचित्रसर्जक कार्की हरेक विषयका ज्ञाता रहेको उल्लेख गरे । 

कार्यक्रममा राधेश्याम लेकाली, मिथिला शर्मा, प्रा.डा. सुरेन्द्र केसी, मुरारी सिग्देलले पनि बोलेका थिए ।

उक्त अवसरमा गायक कलाकारहरू विमला राई, नारायण ओली, रितु कँडेलले चेतन कार्कीद्वारा रचित गीतहरू गाएर सुनाएका थिए ।   

चेतन कार्कीको २०७८ जेठ २ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

Categorized in सिनेमा