STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुदूरपश्चिम प्रदेशमा नाउपाले नेतृत्व लिने निश्चित

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २९, बिहिबार

काठमाडौं-  नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।

केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो ।

नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ । सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् ।

यस अघि ७ सांसद रहेकोमा अध्यक्ष  रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएकी थिइन् र प्रदेश सभाले उनी पदमुक्त भएको सूचना समेत सार्बजनिक गरिसकेको छ ।

६ सांसद मध्ये अध्यक्षको पक्षमा २ सांसद मात्र रहेका छन् । केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री बाहेक नाउपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपामा अहिले अन्योलता रहेको छ ।

अध्यक्ष रञ्जिताले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । चौधरी नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको आकलन गरिएको छ ।

यो विषय पनि विवादमा रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ सांसद रहेका छन् ।

बहुमतको लागि २६ मत चाहिनेमा हालको सत्ता समिकरणसँग माओवादीका ११, एमालेका १०, नाउपाका ६, एकीकृत समाजवादीका ४ गरि ३१ सांसद रहेका छन् ।

त्यस्तै प्रदेशमा कांग्रेसका १८ राप्रपा १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । 

Categorized in राजनीति