relans
ni new 83
nib 2082 5

सुदूरपश्चिममा ‘चेली त्यार’ शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २, बिहिबार

सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेलीको त्यार शुरु भएको छ । विवाह गरेर पराईको घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने चलनलाई सुदूरपश्चिमको स्थानीय भाषामा ‘चेली त्यार’ अर्थात त्यारमाडो दिने भन्ने गर्दछन् । विवाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माइतीघरमा बोलाएर होस् वा उनकै घरमा गएर उक्त ‘चेली त्यार’ ९त्यारमाडोे० दिने चलन रहेको छ । आफनो माइती नभएका अर्थात आमाबुबा, दाइ, भाउजू नभएका छोरीचेली भने यो महिनालाई दुःखको महिना सम्झेर रुने गर्ने गरेको शिखर नगरपालिका–१ कपल्लेका स्थानीयवासी निलम थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “महिनाभरि माइतीले छोरीलाई रोटी अर्थात त्यार दिने गर्दछन्, माइतमा कोही नभएका दिदीबहिनीलाई त माघ महिनाभरि बस्न मुस्किल हुन्छ, दुःख मात्रै हुन्छ ।” माइती पक्षका कोही नभएका छोरीचेली प्रायः यो महिनाभरि जङ्गलमा घाँस काट्न जाँदा होस् वा अन्य एकान्त ठाउँमा गएर विरहका गीत गाएरै बिताउने गरेको यहाँका स्थानीय महिला बताउँछन् । माघ महिनाभरि यहाँका छोरीचेली कहिले माइती आउलान् र त्यारमाडो अर्थात ‘चेली त्यार’ ल्याउलान् भन्ने पर्खाइमा बस्ने गरेको केआइसिंह गाउँपालिका–५ का माधवी चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान आँगनमा काग करायो भने माइतीबाट कोही आउँछन् की भन्ने आशले मन खुशी भएको हुन्छ, बेलुकीसम्म कोही आउँदैन, अनि मन खिन्न हुन्छ, माघ महिना यसरी बित्छ छोरीको ।” सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुरबाहेक अन्य जिल्ला अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात ‘चेली त्यार’ दिने चलन परापूर्वकालदेख चल्दै आएको छ । छोरी धनी होस् वा गरीब, नजिक होस् वा टाढा त्यार अनिवार्य दिनैपर्ने नियम रहेको छ यहाँका पहाडी जिल्लामा । छोरीलाई दिइने त्यारमा सेल, मासलगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने ९चामलको पिठोबाट बनेको०, माडालगायतका परिकार पकाएर छोरी पक्षकालाई करीब हप्तादिन पुग्नेगरी दिने चलन रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी गौरीदेवी बलायरले बताउनुभयो । “एक छोरीको घरमा हप्ता दिन पुग्नेगरी त्यार दिनुपर्छ, कसै कसैका त पाँचदेखि सात छोरी हुन्छन् उनीहरुलाई साह्रै समस्या भइहाल्छ,” उहाँले भन्नुभयो, “त्यार नदिई नहुने, दिँदा आफूलाई घरमा पछि खान पुग्दैन ।” डोटीलगायत यहाँका अन्य जिल्लामा छोरीलाई त्यारमाडो दिने चलन माघ महिनाभरि नै चल्ने गर्दछ । यहाँका पहाडी जिल्लामा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ । माघ महिनाभरी सुदूरपश्चिममा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू प्रशस्तै भेटिने गरेका छन् । सुदूरपश्चिममा माघ महिनालाई धार्मिक महिनाका रूपमा लिने गरिन्छ । यो महिनामा छोरीचेली, ज्वाइँ र नातिनातिनालाई खानेकुरा तथा केही दान दक्षिणा दिए धर्म कमाइन्छ भन्ने जनविश्वासले यहाँका स्थानीयवासीले माघ महिनामा खानेकुरा तथा केही दान दक्षिणा दिने गरेको दिपायलका स्थानीयवासी तथा व्यापारी गणेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “माघ महिनामा दान दक्षिणा दिए धर्म कमाइन्छ भनेर हामी छोरीलाई त्यार दिने गर्छौँ, माइती नहुने छोरीलाई ठूलो दुःख हुन्छ ।”
Categorized in राष्ट्रिय
ppp 2