सिरियल ‘जुनी’को टिजर सार्वजनिक कार्यक्रममा स्रष्टाहरुलाई सम्मान
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र ४, बिहिबार
सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा निर्माण भएको नयाँ नेपाली टेलिसिरियल जुनी’को टिजर सार्वजनिक गरिएको छ।
बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान तथा टिजर सार्वजनिक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रष्ट मिडिया प्रालिको तर्फबाट पछिल्लो समय टेलिसिरियल क्षेत्रमा सक्रिय विभिन्न कलाकार तथा स्रष्टालाई सम्मानसमेत गरिएको थियो।
अभिनेता मदनकृष्ण श्रेष्ठले निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, ‘हर्के हल्दार’का निर्देशक इन्द्र डोङ लामा, कलाकार विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशन्नसा कार्की, सरोज घिमिरेलगायतलाई सम्मानपत्र प्रदान गरेका थिए।
सामाजिक कथामा आधारित जुनी’को टिजरलाई सामान्य टेलिसिरियलको भन्दा सिनेमाटिक शैलीमा प्रस्तुत गरिएको छ। सिरियलमा कमला घिमिरे र रञ्जित पौडेल मुख्य भूमिकामा छन्।
त्यस्तै विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियासिल, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारतर्फ सोफिया त्रिपाठी र आदर्श कार्की छन्।
टिजर सार्वजनिक कार्यक्रममा निर्देशक सुरेश थापाले आफूले अहिले टेलिसिरियलमा चलिरहेको कथाभन्दा केही फरक विषय र शैली प्रस्तुत गर्न खोजेको बताए।
‘सिरियलमा ड्रामा एकदमै कम छ। वास्तविक कथा बढी छ। यो घटना सिरियलमा हुन्छ या हुँदैन भनेर बनाइएको कथा हो, ’ निर्देशक थापाले भने।
उनले अन्य टेलिसिरियलले जस्तै ‘जुनी’लाई पनि दर्शकले साथ दिने विश्वास व्यक्त गरे। उनका अनुसार सिरियलको पहिलो चरणमा ५२ एपिसोड प्रसारण गर्ने तयारी छ।
यद्यपि ‘जुनी’को प्रसारण मिति भने सार्वजनिक गरिएको छैन। निर्देशक थापाका अनुसार छिट्टै नै प्रसारण मिति घोषणा गरिनेछ।
प्रष्ट मिडिया प्रालिको प्रस्तुति रहेको सिरियलका निर्माता विज्ञान सापकोटा र सौगात छेत्री हुन्। मुख्य सहायक निर्देशकमा योगेश भण्डारी छन्।
सञ्जय राई र विष्णु भण्डारीले छायांकन गरेको सिरियलको सम्पादन तथा कलर विनोद बमले गरेका हुन्।
सिरियलको शीर्ष गीत निर्देशक सुरेश थापाकै शब्दमा तयार भएको हो। भीम बिसीको संगीत तथा संगीत संयोजन रहेको गीतमा गायक सुरज पण्डित र गायिका अस्मिता अधिकारीको स्वर छ।
Categorized in सिनेमा

