STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिरहा समाचारः उपभोक्ता ठगिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १५, बुधबार

सिरहा जिल्लामा खाद्य पदार्थमा हुने मिसावट रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन ऐन कानून बने पनि त्यसको प्रचारप्रसार हुन नसक्दा अझै उपभोक्ता ठगिँदैै आएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाद्वारा लहानमा आयोजित बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी अन्तक्र्रियाका वक्ताले निरन्तरको बजार अनुगमनले बजारमा केही सकारात्मक सुधार देखिए पनि ऐन कानूनको प्रचारप्रसार हुन नसक्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले बजारमा हुने अनुगमनबाट सामानमा मिसावट गर्ने, कम तौल बेच्ने र गुणस्तरहीन सामान बिक्री गर्ने व्यापारी केही हदसम्म डराए पनि ऐनकानूनबारे बुझ्न नसक्दा अझै अपेक्षित सुधार आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “ बजारमा हुने ठगी रोक्न तथा गुणस्तरहीन सामानको बिक्रीमा नियन्त्रण गर्न थुप्रै ऐनकानून बनाइए पनि ऐनकानूनमा भएको दण्डसजायबारे व्यापारी अनभिज्ञ रहेकाले अझै उपभोक्ता ठगिने गरेका छन् ।” सिरहा जिल्ला उद्योग वाणिज्य सङ्घ लहानका अध्यक्ष अशोकलाल अमात्यले अहिलेसम्म भएका बजार अनुगमन केवल सिक्ने र सिकाउने भएकाले अब ऐन कानूनको बारेमा जानकारी गराउँदै गलत गर्नेलाई कानूनी दायरा ल्याउनुपर्नेमा जोड दिनुभयो । “उपभोग्य सामानमा मिसावट गर्ने कार्य गर्नु गलत हो भन्ने कुरा सबै व्यापारीले बुझेका छन्”, उहाँले भन्नुभयो, “तर त्यो मिसावट गरे पनि कानूनीरुपमा के दण्ड सजाय हुन्छ भने धेरैले बुझेका छैनन्, त्यसैले अनुगमन हँुदा मात्रै व्यापारी डराउने र त्यसपछि पुनः मिसावट गर्ने प्रवृत्ति देखिएको छ ।” अब कानूनी दण्ड र सजायबारे समेत व्यापारीलाई सचेत बनाउनुपर्ने उहाँको भनाइ थियो । सो अवसरमा खाद्य प्रविधि तथा गुण नयन्त्रक डिभिजन कार्यालय राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले सरसफाइ, स्वच्छ खानेपानीको प्रयोग र उपभोग्य सामानको उत्पादन मिति र गुज्रिने मितिलगायत विषयमा उपभोक्ता सचेत भए धेरै हदसम्म खानेकुरा स्वच्छ हुन सक्ने बताउँद दूध, दही, खानेपानीलगायत खाद्य पदार्थमा शुद्धता र स्वच्छता ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले उद्योग व्यवसाय सञ्चालन गर्न बनेका ऐन कानून र निर्देशिकाको बारेमा सहजीकरण गर्दै बजारमा हुने ठगी र अवैध व्यापार रोक्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । ९६६ छोरीको बीमा जिल्लामा गत २०७५ माघ १ गते यता जन्मिएका ९६६ छोरीको बीमा गरिएको छ । प्रदेश नम्बर २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सिरहाका विभिन्न स्थानीय तहमा सम्पन्न छोरी शिक्षा बीमा शिविरमा ती छोरीको बीमा गरिएको हो । जिल्लाका विभिन्न पाँच स्थानीय तहमा शिविर चलाई छोरीको बीमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिनुभयो । सिरहा नगरपालिकामा ४९०, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकाका चार वडामा ६६, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बीमा गरिएको थियो । लोकसाहित्य महोत्सव वैशाखमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी लहानमा आगामी वर्ष वैशाखमा लोकसाहित्य महोत्सव हुन लागेको छ । सिरहाको ऐतिहासिक, धार्मिकलगायत विविध पक्षलाई राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा प्रचारप्रचार गर्ने उद्देश्यले लोकसाहित्य महोत्सव आयोजना गर्न लागिएको पत्रकार तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले जानकारी दिनुभयो । जिल्लामा रहेका धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारी, कमला नदीमा लाग्ने अद्भूत मेला, २०३६ सालमा भएको जनमतसङ्ग्रहमा सिरहा जिल्लाले खेलेको भूमिका, मधेश विद्रोहलगायत विषयमा चर्चा गर्न नयाँ वर्ष २०७७ वैशाखमा लोकसाहित्य महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ । महोत्सवमा नेपाल र भारतका मैथिली भाषाका साहित्यकारको सहभागिता रहने र सिरहाका विविध विषयमा छलफल हुने उहाँको भनाइ छ । प्रत्येक वर्ष वैशाख १ गतेका दिन लाग्ने लहान नगरपालिकास्थित सलहेश फूलबारी मेलामा भारतीय पर्यटकलाई आकर्षित गर्न पनि यस्तो महोत्सव आयोजना गर्न लागिएको यादवले बताउनुभयो । गत २०६३ सालमा भएको पहिलो मधेश आन्दोलन र त्यस आन्दोलनका क्रममा रमेश महतोसहित पाँच जनाले शहादत प्राप्त गरेको कुरालाई लोकसाहित्यका माध्यमबाट अन्तरराष्ट्रियस्तरमा प्रचार गरिने लक्ष्यसमेत लिइएको छ ।
Categorized in अपराध-दुर्घटना