STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिञ्जा ऐनसहित पूर्वाधारको माग

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २७, सोमबार

कर्णाली प्रदेशको पर्यटकीय गुरुयोजना निर्माण गर्ने क्रममा प्रदेश सरकारको विज्ञ टोली सिञ्जामा पुगेको छ । प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयले बनाउन थालेको गुरुयोजनाको योजना तर्जुमा गर्न विज्ञ टोली सिञ्जामा पुगेको हो ।
प्रदेशको एकीकृत पञ्चवर्षीय पर्यटन योजना तर्जुमा कार्यक्रमका लागि जैविक विविधता विज्ञ डा रोशन शेरचन, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायासहितको टोली जुम्ला सदरमुकाम हुँदै सिञ्जा क्षेत्रमा पुगेको होे । सिञ्जामा पुगेको पर्यटन मन्त्रालयको विज्ञसहितको टिमले सिञ्जा क्षेत्र निर्वाचन क्षेत्र ९ख०का सिञ्जा, कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयसँग छलफल तथा अन्तरक्रियामार्फत पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा पूर्वाधार विकासको विषयमा सुझाव सङ्कलन गरेको मन्त्रालयका सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।   
मन्त्रालयले विभिन्न जिल्लामा छ वटा टोली खटाएर पहिले जिल्लागत रूपमा विस्तृत मस्यौदा ल्याउने र त्यसपछि अन्तिम रूप दिने उद्देश्यका साथ प्रदेश टोलीले अहिले पर्यटन गुरुयोजना तर्जुमा गर्दै आएको विज्ञ टोली प्रमुख डा शेरचनले जानकारी दिनुभयो । 
सिञ्जा प्रतिष्ठान ऐन माग   
यसैबीच सिञ्जावासीले सरकारले सिञ्जाको समग्र विकासका लागि ऐन निर्माण गर्नुपर्ने माग गरेका छन् । सिञ्जा गाउँपालिकाको नराकोटमा सम्पन्न योजना तर्जुमा गोष्ठीमा सिञ्जा क्षेत्र र तिला गाउँपालिकाका जनप्रतिनिधिले सिञ्जाको विकासका लागि स्थायी संरचना आवश्यक रहेको बताए । नेपाल पर्यटन पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र शाहीले पनि सिञ्जाको एकीकृत विकासका लागि ऐनमार्फत् जानुपर्ने बताउनुभयो । स्थानीय शिक्षक देवराज धितालले अब कानूनमार्फत् नै गएपछि सिञ्जाको विकास हुने भन्दै टुक्रे योजनाले खास काम नहुने बताउनुभयो । 
तत्कालीन समयको विशाल सिञ्जा साम्राज्यमा रहेको भग्नावशेषको पहिचान, संरक्षण, विराटदरबार, राजसभागृह लामाथाडा, कनकासुन्दरी मन्दिर, पाण्डवगुफादेखि विभिन्न पुरातात्विक र ऐतिहासिक संरचनाको उत्खनन, संरक्षण र पूर्वाधार विकास गरी सिञ्जालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सुझाव सङ्कलन गरिएको विज्ञ शेरचनले बताउनुभयो । 
जुम्लामा जनप्रतिनिधिसहित विभिन्न सरोकारवाला निकायको सहभागितामा जुम्लाका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक पर्यटकीयस्थलको नाम र यसको पूर्वाधार विकासका लागि आवश्यक योजना तर्जुमा गरिएको छ । यसैगरी जिल्ला सदरमुकाम जुम्लामा पनि यसअघि योजना तर्जुमा कार्यक्रम गरिएको छ । 
जुम्लाको चन्दननाथ मन्दिरका गिडीदह शङख दह पाण्डव गुफालगायत अन्य मठमन्दिरको सरक्षण र सम्वद्र्धनमा गर्न आवश्यक रहेको बताइएको छ । स्थानीय जनप्रतिनिधिहरूले सिञ्जा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहासका कतिपय तथ्य धरापमा पर्ने अवस्था उत्पन्न भएको बताए । 
Categorized in राष्ट्रिय