STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साेमबारमात्र पाँच सयबढीमा संक्रमण, काठमाडौंमा १५९ संक्रमित थपिए

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ३१, मंगलबार

काठमाडौं - नेपालमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार मात्र ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रूपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक/एक जना संक्रमितको मृत्यु भएको हो। 

कोरोना संक्रमणका साथै अन्य दीर्घरोगसमेत रहेको अस्पतालले जनाएको छ। यस्तै, कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा ८ जनाको मृत्यु भएको र ५ जनाको मृत्यु विवरण अद्यावधिक गरिएको जनाएको छ।

काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लामा संक्रमण बढ्दो देखिएको छ। अन्य प्रदेशको तुलनामा बाग्मती र लुम्बिनीमा संक्रमण बढेको छ। पछिल्लो चौबिस घण्टामा बागमतीमा २ सय ३५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा सबैभन्दा बढी १ सय ५९ जना संक्रमित थपिएका हुन्।  त्यस्तै, ललितपुरमा ४४, भक्तपुर र चितवनमा ८/८ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

चैत तेस्रो सातासम्म दैनिक संक्रमितको संख्या औसत डेढ सय हाराहारी थियो। तर, सोमबार ५ सय ५९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। जसमध्ये २४ वर्षमुनिका संक्रमितको संख्या १८ छ। मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले संक्रमणदर वृद्धि भइरहेका कारण भीडभाड एवं जमघट गर्नु घातक हुने बताए। ‘संक्रमणको अवस्थालाई आकलन गरेरै २५ जनाभन्दा बढी व्यक्ति जमघट तथा भेला हुने कार्यक्रम सबै बन्द  गर्नुपर्छ भन्ने नै हाम्रो प्रस्ताव हो’, प्रवक्ता डा. गौतमले भने।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा यूके भेरियन्टको बढ्दो अवस्थालाई आकलन गर्दै १० बुँदे सुझाव कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पेस गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको सर्भिलेन्समा काठमाडौं, पोखरालगायत स्थान र केही विद्यालयमा संक्रमण बढ्दो क्रममा रहेकाले तीन सातासम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको छ।

त्यस्तै, बढी भीडभाड र जोखिम बढ्ने स्थान (सपिङ मल, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल र मन्दिरलगायत धार्मिक स्थल)मा मापदण्ड पालनामा कडाइ गर्ने वा बन्द गर्नुपर्ने सुझावसमेत मन्त्रालयले दिएको छ। अहिले मुलुकभर ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित छन्।

Categorized in स्वास्थ्य-मौसम