STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेयर शाक्यको आग्रह

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन ३०, शुक्रबार

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वतः कमजोर हुने बताउनु भएको छ । आज शुक्रबार शिवपुरी माध्यमिक बिद्यालयको ७२ औंं बार्षिकोत्सव समारोहमा बोल्नु हुँदै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो । 

मेयर शाक्यले सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यको जिम्मा म लिन सक्छु भन्ने ध्येयका साथ पठन–पाठनमा ध्यान दिई विद्यार्थीका साथै अविभावकलाई पनि विस्वस्थ बनाउनु पर्नेमा जोड दिनुभयो । 

उहाँले विद्यालय शिक्षा स्थानीय तहको जिम्मेवारीमा आएपछि विद्यालय सुधारका केही प्रयासहरु गरेको पनि जानकारी दिनुभयो । उहाँले भित्रि सुधारको पाटो शिक्षक–शिक्षिकाकै भएको भन्दै शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामूदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा महानगरपालिकाले लिएको पनि जानकारी दिनुभयो । उहाँले सामुदायिक बिद्यालयका शिक्षक/शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील पनि आग्रह गर्नुभयो ।  उहाँले गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति महानगरले बनाउने भन्दै स्रोतको समस्या नभएको प्रष्ट पार्नुभयो ।  

आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुभयो । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो । 

उहाँले महानगरपालिका सूचना प्रबिधिमा आधारित शैक्षिक कार्यक्रममा केन्द्रीत रहेको पनि बताउनुभयो ।  समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भन्नुभयो– ‘हामी विद्यालयको सूचना प्रबिधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्न चाहन्छौं ।’ 

समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, सेवा निवृत्त शिक्षक शिक्षिकालाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै विद्यालयमा २५ बर्ष सेवा अवधि पूरा गर्ने शिक्षक शिक्षिकालाई शिवपुरी शिक्षा सेवा पदक उत्कृष्ठ शिक्षा सम्मान प्रदान गरिएको थियो । 

विद्यालयले कोभिड नियन्त्रणका उत्कृत्ठ काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक के. सी. लाई बिशेष सम्मान गरेको थियो । 

बिद्यालयमा कक्षा १२ सम्म करीव १ हजार ३ सय बिद्यार्थी छन् ।

Categorized in उपत्यका